अघोषित रुपमा विद्युत् कटौती भएपछि उपभोक्ता आक्रोशित, प्राधिकरणमा ताला लगाउने चेतावनी-Sutra News

अघोषित रुपमा विद्युत् कटौती भएपछि उपभोक्ता आक्रोशित, प्राधिकरणमा ताला लगाउने चेतावनी

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

अघोषितरुपमा हुने विद्युत्भार कटौतीका कारण तनहुँका उपभोक्ता हैरान बन्दै गएका छन् ।



विनासूचना प्राधिकरणले पटकपटक विद्युत् कटौती गर्दा अनलाइन कक्षा पढ्ने विद्यार्थी र उद्योगी व्यवसायी मर्कामा छन् । लामो समयदेखि दैनिक विद्युत् जाने आउने समस्या भइरहेको उपभोक्ताको गुनासो छ ।

जिल्लाको म्याग्दे गाउँपालिकामा १० दिनदेखि विद्युत् अवरुद्ध भएपछि स्थानीयवासी मर्कामा छन् । मर्मत गर्नेतर्फ विद्युत् प्राधिकरणले चासो नदेखाएको उद्योग वाणिज्य सङ्घ थर्पु बजार इकाइ सभापति भीमलाल श्रेष्ठले बताए ।

“दश दिन भइसक्यो विद्युत्को समस्या छ, पटकपटक जानकारी गराउँदा पनि चासो दिइएको छैन”, उनले भने  । विद्युत् अनियमित हुँदा अनलाइन कक्षा पढ्ने विद्यार्थी बढी मारमा परेको स्थानीयवासी रामभक्त घिमिरेले बताए ।

 “विद्युत् प्राधिकरणलाई आइतबारसम्म यो समस्या समाधान गर्न अल्टिमेटम दिएका छौँ, त्यसभित्र पनि मर्मत नभए विद्युत् प्राधिकरणमा ताला लगाइदिन्छौँ”, उनले भने । विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले म्याग्दे क्षेत्रमा समस्या आएको ठाउँ पत्ता लगाउन नसक्दा मर्मतमा कठिनाइ भएको बताए । “राजमार्ग क्षेत्रमा विद्युत् नियमित भए पनि भित्री क्षेत्रमा मर्मत कार्य जारी छ, कहाँनेर समस्या छ भन्ने पत्ता लगाउन गाह्रो भइरहेको छ”, उनले भने, “छिट्टै उक्त समस्या समाधान हुन्छ”, उनका अनुसार शुरुका केही दिन थर्पु शाखाका प्राविधिकले मर्मतका लागि काम गरे पनि समस्या समाधान हुन नसकेपछि अहिले जिल्लाबाटै प्राविधिक खटिएका छन् ।

शुक्लागण्डकी नगरपालिकामा पनि अनियमित विद्युत्ले सर्वसाधारण हैरान छन् । “लाइन कति बेला जान्छ । कति बेला आउँछ पत्तो हुँदैन”, शुक्लागण्डकी–३ कवासे निवासी समुन्द्र कार्की भने, “यतिबेला बाबुनानीको अनलाइन कक्षा चलेको छ । बेलाबेला लाइन जाँदा पढ्न समस्या भएको छ ।” कहिलेकाहीँ दिनमा १० पटकसम्म पनि लाइने जाने गरेको उहाँले जानकारी दिए । उनका अनुसार बिहान, दिउँसो, बेलुका जुनसुकैबेला पनि विद्युत् अवरुद्ध हुने समस्या छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट