सर्प देख्नेबित्तिकै किन डर लाग्छ ? यी हुन् सर्पसम्बन्धी रोचक तथ्यहरू-Sutra News

सर्प देख्नेबित्तिकै किन डर लाग्छ ? यी हुन् सर्पसम्बन्धी रोचक तथ्यहरू

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

सर्प देखेर डराउने प्रकृयालाई ओफियोफोबिया वा हर्पटेफोबिया भनिन्छ । विश्वभरका ३ जनामध्ये मानिसहरुमध्ये एक जना सर्पसँग डराउने अनुमान छ । कोही भने सर्पसँग नजिक भएर यिनको अनुसन्धान र संरक्षणमा लागेका पनि छन् ।



सर्पबारेका विश्वासहरु

विभिन्न समाज र संस्कृतिमा सर्पबारे अनौठो चलन पनि रहिआएको छ । भारतमा सन् २००६ मा एकजना ३० वर्षाय महिलाले सर्पसँग विवाह गरेकी थिइन् । अफ्रिकामा मरेका आफन्तले सर्पको जुनी लिएर फेरि जन्मिन्छन् भन्ने विश्वास गरिन्छ । चीनमा सर्पको रक्सीलाई सबै रोगको अचुक औषधिको रुपमा लिइन्छ ।

नेपालमा भने सर्पलाइ मारेपनि यसले फोटो खिचेर राख्ने र पछि मार्न वा टोक्न आउने भएकोले मारिसकेपछि पनि टाउको टुक्राटुक्रा पारिन्छ । यसले गर्दा फोटो खिचेर राख्ने ठाँउ नस्ट गरिएको विश्वास गरिन्छ । सपनामा सर्प मरेको देखेमा मृत्युको भय हुने विश्वास समेत गरिन्छ । हिन्दुहरु नाग पञ्चमिमा यिनको पूजा नै गर्छन् ।

के सबै सर्प विषालु हुन्छन्?

संसारभर पाइने करिब ३ हजार प्रजातिका सर्पहरु मध्ये नेपालमा करिब ८० प्रजातिहरुका सर्प अभिलेख गरिएको छ जसमध्ये करिब १५ प्रतिशत भन्दापनि कम प्रजातिहरुका सर्पमात्रै विषालु छन् र सो मध्येपनि आधाजतिले टोकेमामात्र मानिसलाई ठूलो नोक्सानी हुने सम्भावना हुन्छ । टोक्दापनि २५ देखि ५० प्रतिशत अवस्थामा विष निकाल्न सक्दैनन् जसलाई सुख्खा टोकाइ पनि भनिन्छ । सर्पले आफूलाई अफ्ठयारो अवस्था नपरेसम्म टोक्दैनन् । तिनले मानिसलाई लखेटेर त झनै टोक्दै टोक्दैनन् ।

सर्पलाई सकस

सर्पलाई देख्न हुँदैन, मानिसहरु मारिहाल्छन् सर्पलाई चौतर्फी चुनौतीहरु मात्रै छन् । वन तथा बासस्थान विनास, आगलागी, आहारा प्रजातिमा विषादी, जनचेतनामा कमि, सर्प चटकीको प्रदर्शन, पुनर्स्थापना केन्द्र नहुनु आदि कारणले यिनको संख्या दिनप्रतिदिन घट्दो छ । मानिस र सर्प बीचको द्वन्द्व लामो समयदेखि चल्दै आएको छ । धादिङ्ग जिल्लाको सल्यानटारमा प्रत्येक घरले वर्षमा दुइवटा सर्प मार्ने गरेको त्यहाँ गरिएको एक अनौपचारिक अध्ययनले देखाएको छ । मानिसहरुले सबै सर्पलाई विष भएको ठान्नु नै यसको मृत्युको प्रमुख कारण हुँदै आएको छ ।

सर्प नमारौँ

सर्पलाई जिस्काउने, तर्साउने, समाउने तथा लखेट्ने कार्य नगरौँ । यिनले प्रकृतिमा धेरै ठूलो भूमिका खेलेका हुन्छन् । यिनले अन्नबालीको नोक्सानी गर्ने मुसालाई खाएर किसानलाई ठूलो सहयोग पुर्‍याउँछन् भने अर्कोतिर धेरै वन्यजन्तुको आहार समेत बन्दछन् ।

सर्प सम्बन्धि १६ रमाइला तथ्यहरु

यिनीहरु मांसाहारी हुन् । यिनीहरुले आफ्नो खाना सग्लै निल्छन् । यिनको आँखाको परेलाहरु हुँदैनन् तेसैले सुत्दा आँखा खोलेरै सुत्छन् ।
यिनीहरुले काँचुली फेरिरहन्छन् जुन उमेरसंगै फेर्ने क्रम कम हुँदै जान्छन्  ।
यिनीहरुले जिब्रोको माध्यमले सुँघ्ने गर्दछन् । सर्पहरुले सुन्न सक्दैनन् तर यिनले हावा वा जमीनमा हुने चालको अनुभव गरेर प्रतिकृया जनाउने गर्दछन् ।

यिनीहरुले आफ्नो शत्रुहरुलाई अठ्याएर सास फेर्न अप्ठ्यारोमा पारेर मार्ने गर्दछन् ।
यिनीहरु १० सेमी लामादेखि ६ मिटर लामासम्म हुन्छन् । संसारको सबैभन्दा ठूलो सर्प एनाकोन्डा हो जुन २७० किलोसम्मको तौल र ९ मिटरसम्मको लम्बाईको भेटिएको छ ।

विश्वभर वर्षमा १ लाख मानिसहरु सर्पको टोकाइबाट मारिन्छन् तर यो संख्या माहुरी तथा बारुलाले टोकेर मारिने भन्दा कम हो । सबैभन्दा खतरनाक तथा विषालु सर्पहरु अस्ट्रेलियामा पाइन्छन् ।

ब्राजिलको आइसल्याण्डमा मानिसहरु जाँदैनन् । किनकी त्यहाँ प्रति वर्ग मीटरमा ५ वटासम्म सर्पहरु पाइन्छन् ।
वैज्ञानिकहरु चारखुट्टे घस्रने सरिसृपबाट सर्पको विकास भएको मान्छन् । यिनको अस्तित्व पृथ्वीमा एक करोड वर्ष अघि रहेको वैज्ञानिक आंकलन छ ।

सर्पले औसत ३ देखि ५ दिनमा खाएको खाना पचाइसक्छन् । तर ठूला प्रजातिहरुलाई झन् बढी समय लाग्छ ।
सर्पका २०० वटासम्म दाँतहरु हुन्छन् । जुन टोक्नको लागि नभई आहारालाई भित्रतर्फ तान्न र आहारालाई फुत्कन नदिनको लागि मात्र प्रयोग हुन्छ ।

७० प्रतिशत सर्पहरुले फुल पार्छन् तर बाँकीले भने बच्चा समेत जन्माउने गर्दछन् ।
सर्पका प्रजाति अनुसार ६ देखि १०० वटासम्म फुल पारेको अभिलेख गरिएको छ ।
सहवासको बेला कतिपय पोथी सर्पले शरिरबाट फेरोमोन नामक हर्मोन निकाल्ने गर्दछन् यसको आधारमा भाले सर्पहरुले सहवासको लागि तयार भए नभएको तथा पोथीको आकारबारे समेत जानकारी पाउँदछन् ।

नेपालमा सर्पहरु ४८०० मीटरको उचाइसम्म अभिलेख गरिएको छ । अमेरिकामा सन १९७५ मा सर्प विज्ञ कार्ल स्मीडले विषालु सर्पले टोकेपछि मृत्यु हुन्छ भन्ने थाहा हुँदा हुँदैपनि अस्पताल नगई सर्पको असरबारे लेख लेखेका थिए । पछि उनी मरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट