नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन – देउवा सरकारलाई जसरी पनि सफल पार्नुपर्छ-Sutra News

नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन – देउवा सरकारलाई जसरी पनि सफल पार्नुपर्छ

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई जसरी पनि सफल पार्नुपर्ने निर्देशन दिएका छन् ।



शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित स्थायी कमिटी बैठकमा बोल्दै प्रचण्डले प्रतिगमन परास्त भएर बनेको नयाँ सरकार असफल भए त्यसको जस आफूमाथि आउने भन्दै कडा रुलिङ गरेका हुन् ।

‘हामीले निकै मेहेनेत गरेर संसद र संविधान जोगाएका छौं । कांग्रेसकै नेतृत्वको सरकार भएपनि हामीले यसलाई सफल बनाउने अभियान छेड्नुछ,’ प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने ।

प्रचण्डले सरकारविरोधीहरूसँग कडा टक्कर लिएर अघि बढ्नुपर्नेसमेत बताए ।

बैठक सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग भने – ‘यो चार महिनाको अवधिमा राजनीतिक रुपमा बाम-लोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरु सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्ति विरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढन अध्यक्ष कमरेडले निर्देशन दिनुभएको छ ।’

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शनिवारदेखि शुरू हुँदैछ । प्रचण्डले बैठकमा राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गर्नेछन् ।

बैठकले सरकारमा सामेल हुने मन्त्रीहरूका बारेमा भने कुनै छिनोफानो गर्न सकेन । ‘कुरा उठेको थियो, तर त्यो निष्कर्षमा पुग्न सकेन,’ एक स्थायी कमिटी सदस्यले सूत्रन्यूजसँग भने ।

मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डकै रहेको उनले बताए । ‘केही मापदण्डमा सहमति भएको छ, त्यही मापदण्डअनुसार अध्यक्ष कमरेडले मन्त्री छान्नुहुन्छ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट