अफगानिस्तानमा जम्मा १५ सय नेपाली रहेको सरकारी आँकडा, यसरी गरिँदैछ उद्दार-Sutra News

अफगानिस्तानमा जम्मा १५ सय नेपाली रहेको सरकारी आँकडा, यसरी गरिँदैछ उद्दार

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

तालिबानले अफगानिस्तानका आधा भन्दा धेरै प्रान्तहरू कब्जा गरेपछि त्यहाँ रहेका नेपालीहरूलाई उद्दार गर्ने प्रक्रिया सरकारले शुरू गरेको छ । अफगानिस्तानमा जम्मा १५ सय नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सूत्रन्यूजसँग भनिन् – ‘हामीसँग अहिले जम्मा १५ सय जनाको तथ्यांक आएको छ । उद्दार प्रक्रिया शुरू गरिसकेका छौं । युएन, अमेरीका, भारत लगायतका देशका कूटनीतिक नियोगमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेका नेपालीहरूलाई उद्दार गर्न सम्बन्धित देशलाई नै हामीले अनुरोध गरेका छौं ।’

ती देशहरूले आफ्ना नागरिक उद्दार गर्दा नेपालीहरूको पनि सँगै उद्दार गरिदिन आग्रह गरिएको पत्र परराष्ट्र मन्त्रालयले धमाधम पठाउन थालेको छ ।

यसबाहेक अफगान मामिला नेपालको दिल्लीस्थित राजदूतावासबाट हेरिने भएकाले भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्य पनि सक्रियताका साथ खटिरहेका छन् ।

अफगानिस्तानमा ६ हजार भन्दा बढी नेपाली रहेको विभिन्न तथ्यांकहरूले देखाएका छन् । तर सरकारी आँकडामा भने जम्मा १५ सय नेपालीको सूची रहेको छ ।

यसबारे परराष्ट्रकी प्रवक्ता लम्सालले भनिन् – ‘श्रम स्वीकृति लिएर जानेहरूको संख्या त्यति नै रहेको छ । बाँकी अन्य कुनै बाटो बाट अफगानिस्तान पुगेका नेपालीहरूको हकमा भने हामीलाई जानकारी आएपछि मात्र थाहा हुने कुरा भयो । त्यसबारेमा पनि हामीले खोज शुरू गरिसकेका छौं ।’

अफगानिस्तानमा तालिबानले कब्जा जमाउँदै लगेपछि अन्य देशले आफ्ना नागरिकलाई धमाधम उद्दार गरेर लगिसकेका छन् । नेपालमा पनि उद्दारका लागि सरकारलाई चारैतिरबाट दबाब बढाइएको छ ।

गत बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद खगराज अधिकारीले नेपालीहरूको तत्काल उद्दार गर्न माग गरेका थिए ।

उनले तत्काल उद्दार प्रक्रिया नथाले संसद चल्न नदिने चेतावनीसमेत दिएका थिए ।

त्यस्तै कांग्रेसकी सांसद डीला संग्रौलाले पनि अफगानिस्तानबाट तत्काल नेपाली ल्याउने प्रक्रिया थाल्न दबाब दिएकी थिइन् ।

अफगानिस्तानबाट अमेरिका र नाटोका सेना फिर्ता भएपछि तालिबान अफगानिस्तान कब्जा गर्ने रणनीतिका साथ अघि बढेको हो । अहिलेसम्म राजधानी काबुलबाहेक लगभग सबै मुख्य शहर र प्रान्तमा तालिबानले कब्जा जमाइसकेको छ ।

अफगानिस्तानका अमेरिकी समर्थित राष्ट्रपति असरफ घानीले तालिबानले प्रमुख शहरहरू कब्जा गर्न थालेपछि विदेशी समुदायको सहयोग माग गरेका छन् ।

शनिबार राष्ट्रिय टेलिभिजनमा सम्बोधन गरेर अमेरिका र नाटोका सेनाले अफगानिस्तान छोडेपछि देखिएको शून्यतामा तालिबानले छिटो लाभ हासिल थालेको प्रतिक्रिया दिएका हुन् ।

घानीले भने –  ‘म विश्वका नेताहरु र स्थानीय राजनीतिक व्यक्तित्वहरुसँग कुराकानीमा छु ।’

गत तीन हप्ता भन्दा कम समयमा तालिबान लडाकुहरु तीव्र गतिमा उत्तरी, पश्चिमी र दक्षिणी अफगानिस्तानका प्रमुख प्रान्तीय राजधानीहरु कब्जा गरेका छन् । आक्रमण शनिबार पनि जारी रह्यो, दुबै काबुलको नजिक र पाकिस्तानको सीमावर्ती दुर्गम क्षेत्रहरुमा ।

२००१ मा अमेरिकी सेनाले तालिबानलाई हटाएको थियो । घानीले भने – ‘अफगानिस्तानमा थोपिएको गृहयुद्ध र मृत्यु रोक्न र २० बर्षका उपलब्धिहरु गुमाउने अवस्थामा हामी छौं ।’

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट