sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

केपी ओलीका ५ चर्चित झूट : उपचार खर्च आफैं बेहोर्नेदेखि पानीजहाजको टिकटसम्म

केपी ओलीका ५ चर्चित झूट : उपचार खर्च आफैं बेहोर्नेदेखि पानीजहाजको टिकटसम्म

सूत्र न्यूज

२२ भाद्र २०७८
  • 287
    SHARES
  • केपी ओलीका ५ चर्चित झूट : उपचार खर्च आफैं बेहोर्नेदेखि पानीजहाजको टिकटसम्म

    झुट नम्बर १, उपचार खर्च

    images

    २०७६ साल साउन १९ गते तत्कालीन सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले सिंगापुरमा उपचाररत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च ओली स्वयंले बेहोर्ने दाबी गरे । मिर्गौलामा समस्या देखिएपछि ओली १८ गते राति सिंगापुर उडेका थिए ।

    नियमित पत्रकार सम्मेलनका क्रममा बास्कोटाले भनेका थिए  - 'आफ्नो उपचार स्वयं प्रधानमन्त्रीज्यूले आफ्नै व्यवस्थापनमा गर्नुहुन्छ । यसमा कुनै अलमल वा भ्रम छैन ।'

    तर गत भदौ १३ गते जनआस्था साप्ताहिकले ओलीको उपचारका लागि २०७६ को साउन १५ गते तत्कालीन परराष्ट्र सचिव शंकरदास बैरागीले 'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने' प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेश गरेको र भोलिपल्ट बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको तथ्य सार्वजनिक गरिदियो ।

    १६ गते मन्त्रिपरिषद बैठकबाट खर्च सबै सरकारले बेहोर्ने प्रस्ताव पारित भएको ३ दिनपछि प्रवक्ता बास्कोटाले पत्रकारसँग सफेद झुट बोले, 'आफ्नो उपचार स्वयं प्रधानमन्त्रीज्यूले आफ्नै व्यवस्थापनमा गर्नुहुन्छ । यसमा कुनै अलमल वा भ्रम छैन ।'

    त्यसअघि पनि ओलीको उपचारमा राज्यकोषको करोडौं खर्च भएको चर्चा चल्ने गर्थ्यो । त्यो चर्चालाई झुटो सावित गर्न बास्कोटाले ओलीको निर्देशनमा देश र दुनियाँ ढाँटेका थिए ।

    झुट नम्बर २, स्याटेलाइट

    गत शनिवार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा बोल्दै निवर्तमान प्रधानमन्त्री ओलीले पहिलोपटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट पठाएको दाबी गरे । 'मेरै सरकारको पालामा अन्तरिक्षमा स्याटेलाइट पठाइयो,' ओलीको भनाइ थियो ।

    २०७६ सालको वैशाख ४ गते अमेरिकाको भर्जिनिया राज्यमा रहेको प्रक्षेपण केन्द्रबाट नेपाली स्याट-१को प्रक्षेपण गरिएको थियो । जसको आयु २ वर्ष भन्दा बढी थिएन । यही सेप्टेम्बरको अन्तिम सातामा उक्त नानो स्याटेलाइट वायुमण्डलमा खस्नेछ ।

    तर यथार्थ ओलीले गरेको दाबीभन्दा अलग्गै छ । उक्त स्याटेलाइट जापानमा अध्ययनरत दुई विद्यार्थी आभास मास्के र हरिराम श्रेष्ठले तयार गरेका थिए । उनीहरूले विश्वविद्यालयले दिएको एसाइनमेन्ट अन्तर्गत नानो स्याटेलाइट बनाएका थिए । जसको ग्राउण्ड स्टेसन अहिलेसम्म नेपालमा बनेको छैन ।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान स्रोतका अनुसार नेपालमा ग्राउण्ड स्टेसन बनाउन लाग्ने रकम त्यतिबेला सरकारले उपलब्ध गराउन आनाकानी गरेको थियो ।

    जापान पढेका विद्यार्थीले बनाएको स्याटेलाइटलाई अमेरिकाबाट प्रक्षेपण गरिएको थियो तर नेपालमा ग्राउण्ड स्टेसन बनाउन लाग्ने रकमसमेत ओली सरकारले निकासा नदिएपछि स्याटेलाइटले दिने सूचनामा नेपालको पहुँच हुने कुरै भएन । ओली आफैंले स्याटेलाइट अन्तरिक्षमा पठाएको भन्दै झुट बोल्ने गरेका छन् ।

    झुट नम्बर ३, प्रतिनिधि सभा विघटन

    गत पुस ५ गते प्रतिनिधि सभाको विघटन गर्नुअघि तत्कालीन प्रधानमन्त्री रहेका ओलीले संसदमा सम्बोधन गर्दै संसद विघटन नगर्ने प्रतिबद्धता जनाएका थिए । 'संसदबाट भाग्ने काम मबाट हुँदैन, प्रतिनिधि सभा विघटन हुँदैछ भनेर जसरी हल्ला फैल्याइएको छ, त्यो सत्य होइन,' ओलीको भनाइ थियो ।

    उनले तत्कालीन नेकपाको आन्तरिक बैठकहरूमा पनि प्रतिनिधि सभा विघटन नगर्ने प्रतिबद्धता जनाउने गरेका थिए । पुस ५ गते बिहान बालुवाटार पुगेका तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई समेत उनले प्रतिनिधि सभा विघटनको प्रस्ताव फिर्ता लिन राष्ट्रपतिकहाँ जान लागेको भन्दै झुट बोले ।

    तर ओलीले एकपटक होइन, पटक-पटक संसदको हत्या गर्ने प्रयास जारी राखे । पुस ५ गते गरिएको विघटनलाई फागुन ११ गते सर्वोच्च अदालतले उल्ट्याइदियो । त्यसपछि जेठ ७ गते मध्यरातमा ओलीले पुनः संसद विघटनको सिफारिस गरे । राष्ट्रपतिले मध्यरातमै विघटन सदर गरिदिइन् । सर्वोच्च अदालतले आसार २८ गते ओलीलाई किटानी आदेशका साथ सत्ताच्यूत गर्दै प्रतिनिधि सभा पुनःस्थापना गरिदियो ।

    झुट नम्बर ४ - जेठ २ मा फर्किने प्रतिबद्धता

    सर्वोच्च अदालतले नामसम्बन्धी विवादमाथि फैसला गर्दै गत फागुन २३ गते तत्कालीन नेकपालाई विभाजित गरिदिएर पूर्व एमाले र माओवादी केन्द्र ब्युँताइदियो । नेकपा एकता हुनुपूर्व २०७५ सालको जेठ २ गतेकै अवस्थामा अदालतले दुवै पार्टीलाई फर्काइदिएको थियो ।

    अध्यक्ष ओली जेठ २ मा फर्किन चाहेनन् । नेकपामा विवाद देखिएपछि ओलीले आफूले एकलौटी ढंगले बनाएको नेकपाकालीन संरचनामै पार्टीलाई अघि बढाए । त्यसमा असतुष्टि जाहेर गर्दै माधवकुमार नेपालले आफ्नो नेतृत्वमा छुट्टै पार्टीसमेत बनाएका छन् ।

    ओलीले एकलौटी गरेपछि पार्टीलाई एकताबद्ध राखिरहन कार्यदल बनाइयो । कार्यदलले पार्टीलाई जेठ २ गतेकै संरचनामा फर्काउने सहमति गर्यो । ओली आफैंले पार्टी जेठ २ गतेमा फर्किने बताउने गरेका थिए । तर त्यो सहमति ओलीले कार्यान्वयन गरेका छैनन् ।

    पूर्ववत पार्टीमा प्रवक्ता रहेका योगेश भट्टराईलाई अहिले प्रवक्ताको जिम्मेवारी दिइएको छैन । केही दिनअघि प्रदीप ज्ञवालीले नै प्रवक्ताका रूपमा वक्तव्य निकालेका थिए । लेखराज भट्टले सुदूर पश्चिमको इन्चार्ज मै हुँ भनेर अझैसम्म पनि भन्ने गरेका छन्, तर पूर्ववत अवस्थामा भीम रावल इन्चार्ज थिए । वागमतीको इन्चार्ज अहिलेसम्म पनि रामबहादुर थापा बादल नै छन् भने प्रदेश १ मा भीम आचार्य इन्चार्जका रूपमा पुनर्बहाली भएका छैनन् ।

    झुट नम्बर ५, अम्बाको पात हालेको पानीले कोरोना मर्छ

    विश्वभर तबाही मचाएको कोभिड १९ लाई लिएर ओली जहिल्यै हल्का ढंगले प्रस्तुत भए । उनले कहिले मनतातो पानी पिएर हाछ्युँ गरे कोरोना भाग्ने तर्क गरे भने कहिले बेसार पानी पिए केही नहुने भन्दै हिँडे । तत्कालीन सरकारप्रमुख ओली आफू कोरोना रोकथाम र नियन्त्रणमा पूरै असफल भएपछि विवादित वक्तव्य दिंदै हिंडेका थिए ।

    उनले एकपटक अम्बाको पातलाई पानीमा उमालेर गार्गल गरे कोरोना संक्रमण नहुने अभिव्यक्ति दिए । प्रधानमन्त्रीबाट पटक-पटक अप्रमाणित र हचुवा कुरा आउन थालेपछि उनीनिकट नेताहरूले नै यस्तो नबोल्न सुझाव दिएका थिए । तर ओलीले टेरेनन् ।

    नेपाली भाषामा राम्रो कमाण्ड रहेका ओली बोलेकै भरमा राजनीतिमा हाबी हुन खोज्ने नेता हुन् । उनले कहिले घरघरमा ग्याँस पाइप जोड्ने त कहिले नेपाली झण्डावाल पानीजहाज प्रशान्त महासागरमा चलाउने भन्दै बोलेको झुट निकै प्रख्यात छ ।

    ओलीले २०७५ पुसमा पानीजहाजको टिकट काट्न पाइन्छ भनेका त्यसअघि भाषण गरेका थिए । उनी सत्ताच्यूत हुनेबेलासम्म पानीजहाज आउने गरी कुनै पनि नदीका बारेमा सम्भाव्यता अध्ययनसमेत पूरा भएको छैन । बरू नेपालमा निकै पहिलादेखि ताल र नदीहरूमा चल्ने स्टिमरलाई नै पानीजहाज हो भन्दै ओली समूहले प्रचार गरिरहेको छ ।

    भारतसँगको सम्बन्धका बारेमा पनि ओलीले बारम्बार झुट बोल्ने गर्छन् । खुफिया एजेन्सी 'रअ' प्रमुख सामन्त गोयललाई मध्यरातमा बालुवाटार बोलाएर संसद विघटन हुँदै संविधानसमेत च्यात्ने योजना बनाएको आरोप ओलीलाई लाग्ने गर्छ । तर उनले अरूलाई भारतपरस्त भन्दै प्रचार गरिरहेका छन् । लिपुलेक लिम्पियाधुरा र कालापानीसहितको चुच्चे नक्सा आफूले बनाएको दाबी गर्ने ओलीले त्यही नक्सालाई पाठ्यक्रममा समावेश भने गर्न दिएका थिएनन् । 


    प्रकाशित :भाद्र २२, २०७८ मंगलवार - १०:५८:१६

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.