के हो गणेश लामामाथि एनआरएनए ज्ञानेन्द्र खड्काले लगाएको आरोप ?-Sutra News

के हो गणेश लामामाथि एनआरएनए ज्ञानेन्द्र खड्काले लगाएको आरोप ?

बुधबार, ९ फाल्गुन २०८०

बुधबार, ९ फाल्गुन २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामामाथि गैरआवासीय एक नेपालीको अपहरण गरी २० करोड रुपैयाँ फिरौती मागेको आरोप लागेको छ । लामामाथि होटल तथा रियल स्टेट व्यवसायी गैरआवासीय नेपाली ज्ञानेन्द्र खड्कालाई अपहरण गरी करोडौंको फिरौती मागेको आरोप लागेको हो ।



पीडित भनिएका खड्काले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएका छन् । खड्काले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै घटनाबारे बताएका हुन् ।

खड्काका अनुसार उनलाई गत पुस २३ गते अपहरण गरेर ८ घण्टासम्म बन्धक बनाई करोडौं फिरौती रकम असुल्ने गरी जबरजस्ती कागज गराइएको थियो । उनलाई गणेश लामा र सहदेव कक्षपतीसहितले ललितपुरको ढोलाहिटी आदर्श टोलबाट अपहरण गरेका थिए । फिरौतीस्वरुप करोडौँ रकमको कागजमा हस्ताक्षर गर्न बाध्य भएको उनले बताएका छन्।

खड्काले उपत्यका अपराध महाशाखामा माघ २८ गते जाहेरी दिएको बताएका छन् । उनले ज्यानको सुरक्षाको कारण घटना धेरैपछि मात्रै सार्वजनिक गरेको बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, “डकैतहरुलाई पैसामोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन । यहाँबाट निस्केर घरपरिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ । पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानूनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो । त्यसैले आज सबै कानूनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दैछु ।”

खड्काले प्रहरीमा जाहेरी दिएको यतिका दिनसम्म पनि कारबाही नगरिएको र मुद्दा कमजोर बनाउन आफूमाथि दबाब आएको बताएका छन् ।

तर, लामा भन्छन्– म खड्काबाट पीडित छु

गैरआवासीय नेपाली खड्काले करोडौं फिरौती मागेको आरोप लगाइरहँदा लामाले भने आफैं खड्काबाट पीडित बनेको आरोप लगाएका छन् । उनले आफूलाई खड्काले बैंककमा होटेल खोल्न पैसा हाल्न लगाएर ठगी गरेको आरोप लगाएका छन् ।

खड्काले धुलिखेलको ४० आना जग्गा आफ्नी श्रीमतीको नाममा पास गरेको तर, अहिलेसम्म पनि आफूलाई जग्गा र पैसा नदिएको आरोप लामाको छ । पैसाको कागज गरेपछि खड्काले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लामाले लगाएका छन् ।

लामाका अनुसार खड्का १० वर्षअघिका व्यापारिक साझेदार हुन् ।

“महेश बस्नेत भन्ने मेरो पार्टनरको नामबाट २०७१ साल ६ महिना ३० गते उनकी श्रीमती नानीमैय्या कार्कीको नाममा धुलिखेलको ४० आना जग्गा पास गरिएको थियो । दश वर्षसम्म सम्पर्कमा नआएका खड्कासँग भेट हुँदा प्रहरीमा जाने कि हामी मिलाउने भनेर सोधेँ । उनले नै पैसा दिन्छु कागज गरौँ भनेपछि कागज गरिएको हो”, एक सञ्चारमाध्यमसँगको कुराकानीमा लामाले भनेका छन् ।

यद्दपि, कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका लामा र कक्षपती गुण्डा नाइकेका रूपमा चिनिन्छन् । यसअघि पनि उनीहरुविरुद्ध यस्ता थुप्रै उजुरी परेका देखिन्छन् ।

खड्काको उजुरीपछि घटनाबारे छानबिन सुरु गरिएको ललितपुर प्रहरीले जनाएको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले महाशाखाबाट आएको उक्त जाहेरी दर्ता भएको र थप अनुसन्धानकै क्रममा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट