गर्भपतन गराउनेको संख्या अत्यधिक-Sutra News

गर्भपतन गराउनेको संख्या अत्यधिक

सोमबार, २२ साउन २०८०

सोमबार, २२ साउन २०८०

स्याङ्जामा औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार १६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराएका छन् । तीमध्ये २० वर्ष माथिका एक हजार एक सय एक र २० वर्ष मुनिका ६३ जना रहेका कार्यालयका प्रमुख बसुन्धारा शर्माले जानकारी दिइन् ।



उनका अनुसार वालिङ नगरपालिकामा जिल्लामै सबैभन्दा बढी ३८७ जनाले सुरक्षित गर्भपतन गराएका छन् । त्यसमध्ये तीन सय १५ ले औषधि सेवन गरेका थिए भने ५४ जनाले उपकरण प्रयोग गरेर गर्भपतन गराएका प्रमुख शर्माले बताइन् । उनका अनुसार २० वर्ष माथिका तीन सय ५१ र मुनिका १८ जनाले यहाँबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

पुतलीबजार नगरपालिकाका एक सय ९८ ले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये औषधि सेवन गर्ने १६० र उपकरण प्रयोग गर्ने २७ रहेका छन् । यस पालिकामा सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष माथिका एक सय ७६ र मुनिका ११ रहेका प्रमुख शर्माले जानकारी दिइन् । उनका अनुसार हरिनाशमा एक सय ६६, अर्जुन चौपारीमा ९७, कालीगण्डकीमा ५७ र आँधीखोलामा ५३, बिरुवामा १६ र फेदीखेला गाउँपालिकामा एक जनाले औषधि सेवन गरेर गर्भपतन गराएका छन् ।

“निजी स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउनेको विवरण हामीले समेटेका छैनौँ”, प्रमुख शर्माले भनिन्, “निजी स्वास्थ्य संस्था र अवैधानिकरुपमा गर्भपतन गराउनेको सङ्ख्या जोड्ने हो भने जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या डर लाग्दो छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट