नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट बनाउन ठेक्का दिएकोबारे छानविन समिति बन्दै-Sutra News

नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट बनाउन ठेक्का दिएकोबारे छानविन समिति बन्दै

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

नारायणहिटी दरबार संग्रहालयको बगैँचामा रेस्टुरेन्ट निर्माण गर्न कसले कसरी ठेक्कामा दियो भन्ने बिषयमा छानबिन समिति बन्ने भएको छ । संग्रहालयभित्र निर्माण हुँदै गरेको रेस्टुरेन्टलाई लिएर चौतर्फि आलोचना र विवाद उत्पन्न भएपछि त्यसको ठेक्का प्रक्रियाको वास्तविकता अध्ययन गर्न छानविन समिति बन्ने भएको हो ।



संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले ठेक्का प्रक्रियाको वास्तविकता अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित समिति बनाउने तयारी गरेको छ । मन्त्रालयका सहप्रवक्ता एवं उपसचिव टेकनारायण पौडेलका अनुसार छानबिन समिति बनाउनका लागि गृहकार्य भइरहेको र सम्भवतः आजै बिहीबार समिति बन्नेछ ।

समिति कसको नेतृत्वमा र कति सदस्यीय बन्नेबारे निर्णय भइनसकेको उनले बताए । तर मन्त्रायलका सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा उपसचिव पौडेलसहित पाँच सदस्यीय छानबिन समिति बनाउने प्रस्ताव गरिएको छ ।

एक साताको समय दिएर सुझावसहितको प्रतिवेदन पेश गर्नका लागि समितिलाई जिम्मेवारी दिने तयारी रहेको पर्यटनमन्त्री प्रेमबहादुर आलेको सचिवालयले जनाएको छ ।

दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालनका लागि २०७७ साल पुस १७ गते नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पोखराको बतास समूहअन्तर्गतको बी म्यानेजमेन्टसँग तीन वर्षका लागि ठेक्का सम्झौता गरेका थिए ।

संग्रहालयभित्र रेस्टुरेन्ट बनाउन लागिएको र त्यसको ठेक्का प्रक्रियामा बतास समूहलाई उच्चतम लाभ हुने गरी प्रक्रिया मिलाएको आरोप छ । यससम्बन्धी खबर सार्वजनिक भएपछि मन्त्रालयले मंगलबार तत्कालका लागि निर्माण कार्य रोक्न निर्देशन दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट