निषेधाज्ञा लगाएर कोशी प्रदेशको बजेट अधिवेशन-Sutra News

निषेधाज्ञा लगाएर कोशी प्रदेशको बजेट अधिवेशन

आइतबार, १४ जेष्ठ २०८०

आइतबार, १४ जेष्ठ २०८०

विराटनगर- कोशी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार दिउँसो २ बजेलाई प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन् ।



प्रदेशको नाम पहिचानको आधारमा पुनः हुनुपर्ने माग गर्दै आन्दोलनरत पहिचानवादीको संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

पहिचानवादीको आन्दोलनका कारण सम्भावित प्रदर्शन र झडपलाई मध्यनजर गरी प्रशासनले विराटनगरका विभिन्न ठाउँमा निषधाज्ञा लगाएको छ ।

प्रदेश राजधानी विराटनगरमा निधेषाज्ञा लगाएसँगै सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ । कोसी प्रदेशसभा आसपासको क्षेत्रमा शनिबार अपरान्हदेखि नै सुरक्षाकर्मीले सडकमा बेरियर राखेर आउजाउ गर्न रोक लगाएको छ ।

गत फागुन १७ गते बसेको प्रदेशसभाको बैठकले कोसी नामकरण गरेपछि पहिचानवादी आन्दोलनमा छन् । प्रदेश नं १ पुनःनामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले आफूहरूको आन्दोलन जारी रहेको बताएका छन । उनले भने, ‘राज्यले दमनको नीति लिए पनि हामी संघर्ष छाड्दैनौँ ।

आन्दोलनरत पक्षले ‘पहिचानको लागि युवा’ समूह गठन गरी शुक्रबार मार्चपास समेत गरेको छ । समूहले गाउँदेखि सहरसम्म आन्दोलनको लागि प्रशिक्षण गराएको थेगिमले सुनाए । आइतबार हुने तेस्रो चरणको आन्दोलन फरक हुने पहिचानवादीले बताउँदै आएका छन् ।

प्रशासनले प्रदेशसभा पूर्व देवकोटा चोकदेखि पश्चिम कोसी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरेको छ । आदेशको उल्लंघन गरिए कारबाही हुनेतर्फ पनि प्रशासनले सचेत गराएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले शान्ति सुरक्षा कायम गराउन आफूहरु सक्रिय रहेको बताए । नामकरण विरुद्ध आन्दोलन चकिएसँगै विराटनगरमा सुरक्षाकर्मीसँग भएको झडपमा यसअघि एक आन्दोलनकारीको मृत्यु भएको थियो । पटक पटक भएका झडपमा दर्जनौ सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट