नेकपा एकीकृत समाजवादी बिभाजन हुने खतरा, मन्त्री खान खुट्टा उचाल्ने को–को हुन्?-Sutra News

नेकपा एकीकृत समाजवादी बिभाजन हुने खतरा, मन्त्री खान खुट्टा उचाल्ने को–को हुन्?

सोमबार, १८ पौस २०७९

सोमबार, १८ पौस २०७९

काठमाडौं– पछिल्लो समय अध्यक्ष माधवकुमार नेपालसँग त्यति सन्तुष्ट नरहेकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री नेकपा एमालेतिर जाने सांकेतिक चर्चा चलेको छ।



यो चर्चालाई बल पुग्नेगरी उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘डाइनामिक लिडर’ भएको टिप्पणी मात्र गरेकी छैनन्, आफू पार्टी विभाजनको पक्षमा त्यसबेला पनि नभएको बयान दिएकी छन्।

उनले एउटा अन्तरवार्तामा भनेकी थिइन्,‘माधवकुमार नेपाल भन्दा केपी ओली डाइनामिक लिडर हो। नेतृत्व त्यस्तो हुनुपर्छ कि म सक्किन्छु कि सिध्याउँछु भन्ने नै हुनुपर्छ।’

झाँक्रीको यो तर्कले उनी अध्यक्ष माधवकुमार नेपालसँग सन्तुष्ट नरहेको स्पष्ट पार्छ। ‘पार्टीको निर्णयमा मलाई सोधिएको छैन, हाम्रा धारणा कहाँ कार्यान्वयनमा छन् र?’, यो यसलाई पुष्टि गर्ने अर्को सांकेतिक तर्क हो।

केही घन्टामा नै सत्ता राजनीतिमा नयाँ समीकरण बनेपछि एकीकृत समाजवादीभित्र झाँक्री जस्ता असन्तुष्ट नेता र सांसदको संख्या थपिन थालेको छ। यति मात्र होइन दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकमा मत राख्ने नेताहरू तीन धारमा विभाजित भएका छन्। स्थायी कमिटीले निर्णय गर्न नसकेका कारण नै पोलिटब्युरो बैठकसम्म डाकिएको छ।

भिडिओ रिपोर्ट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडी एमालेलगायतको समर्थनमा प्रधानमन्त्री बनेपछि एकीकृत समाजवादीभित्र विभाजन हुनेसम्मका संकेत देखा परेका हुन्। नेता मात्र होइन, सांसद पनि विभाजित मानसिकतामा रहेका छन्। प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री दिएको खण्डमा समर्थनसहित जानुपर्ने मतमा कृष्णकुमार श्रेष्ठ (किसान), प्रेमबहादुर आले देखिएका छन्। उनीहरूको मतमा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेसहितका नेताको समर्थन छ।

‘यो बामपन्थी गठबन्धन पनि हो। सकेसम्म समर्थन गरेर एमालेसँग एकीकरण समेत गरेर जानेगरी सहमति गर्नुपर्छ’, न्यौपानेले स्थायी कमिटी बैठकका क्रममा भनेका थिए,‘हामीले समर्थन गर्दा नै कल्याण हुन्छ।’

अर्कातिर सम्मानित नेता झलनाथ खनाललगायतले भने अहिले सरकारलाई समर्थन गर्न नहुने अडान कसेका छन्। सरकारको न्युनतम साझा कार्यक्रम पनि नआएको र खिचडी जस्तो देखिएका कारण समर्थन नगरी विपक्षी भएर बस्नुपर्ने खनाललगायतको तर्क छ। उच्च स्रोतले भन्यो,‘ओलीसँग सहकार्य गर्नै नहुने पक्षमा उहाँहरू रहेपछि यो विषय पोलिटब्युरोसम्म पुग्ने निश्चित भयो।’

यता अध्यक्ष माधवकुमार नेपाल भने मझधारमा छन्। प्रचण्ड प्रधानमन्त्री भएका कारण सरकारलाई समर्थन गर्न सकिने अभिव्यक्ति पहिले नै दिएका उनको पार्टीभित्र आलोचना भएको थियो। त्यसैले मझधारमा रहेर उनले ‘सत्ता गठबन्धनका दलबाट समर्थनका लागि पत्र आउनुपर्ने’ मध्यमार्गी तर्क निकालेका छन्। तर, यसमा समर्थन र विरोध दुवै भएपछि पोलिटब्युरो डाकियो।

राष्ट्रिय दलको मान्यता नपाएको यो पार्टीसँग १० जना सांसद रहेका छन्। सरकारलाई समर्थन नगरे सत्ता गठबन्धनले मन्त्री पद दिएर भए पनि केही समर्थन जुटाउने तयारी गरेको बताइन्छ। ‘दलको ह्वीप नलाग्ने भएपछि कुनै पनि बेला विभाजन हुने खतरा छ, गठबन्धनले त्यसो गर्न सक्छ’, समाजवादीका एक नेता भन्छन्,‘केही सकारात्मक निर्णयसहित पोलिटब्युरो बैठक सकिने आशा छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट