भ्लादिमिर पुटिन र सी जिन्पिङबीच उज्बेकिस्तानमा भेट, युक्रेन मामिलालाई लिएर रुसी राष्ट्रपतिद्वारा चीनको प्रशंसा-Sutra News

भ्लादिमिर पुटिन र सी जिन्पिङबीच उज्बेकिस्तानमा भेट, युक्रेन मामिलालाई लिएर रुसी राष्ट्रपतिद्वारा चीनको प्रशंसा

शुक्रबार, ३१ भाद्र २०७९

शुक्रबार, ३१ भाद्र २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई युक्रेन मामिलामा बेइजिङको “सन्तुलित अडान”का लागि धन्यवाद दिएका छन्।



मस्कोले युक्रेनमा अतिक्रमण सुरु गरेपछि रुस र चीनका राष्ट्रपतिहरू पहिलोपटक प्रत्यक्ष रूपमा बिहीवार उज्बेकिस्तानको समरकन्दमा भेटेका हुन्।

पुटिनले त्यहाँ “एकल ध्रूविय विश्व” खडा गर्ने प्रयासहरूको निन्दा गरेका छन्।

राष्ट्रपति सीले चीनले “ठूला शक्तिका रूपमा” रुससँग सहकार्य गर्न खोजेको बताएका छन्।

भेटवार्तापछि प्रतिक्रिया दिँदै उनले रुसलाई कुनै नयाँ सहयोगको घोषणा नगरेको बताए।

महत्त्वपूर्ण समयमा भेट

चीनले युक्रेनमा रुसको अतिक्रमणलाई समर्थन गरेको छैन तर युद्ध सुरु भएयता मस्कोसँग उसको व्यापार र अन्य सम्बन्ध निरन्तर बढ्दो छ।

पछिल्ला दिनमा रुसी फौजले यसअघि नियन्त्रणमा लिएका युक्रेनी क्षेत्रहरू गुमाइरहेको महत्त्वपूर्ण समयमा साङ्घाई सहकार्य सङ्गठनको सम्मेलनको अवसरमा दुई नेताहरूबीच भेट भएको हो।

दुवै नेताहरूबीचको यसअघिको भेट शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा गत फेब्रुअरीमा भएको थियो।

जसक्रममा उनीहरूले एक संयुक्त वक्तव्य जारी गर्दै द्विपक्षीय सम्बन्धको “कुनै सीमा नभएको” जनाएका थिए।

जसको केही दिनमा रुसले युक्रेन अतिक्रमण सुरू गरेको थियो।

पछिल्ला सहकार्य

रुसले युक्रेनमा आक्रमण सुरू गरेपछि बेइजिङले युद्ध अन्त्यको आह्वान गर्दै सार्वभौमिकताको महत्त्वमा जोड दिएको छ।

तर उसले त्यसलाई रुसी अतिक्रमण भन्न निरन्तर अस्वीकार गर्दै आएको छ जसलाई रुसी नेताहरूले विशेष सैन्य कारबाही भन्दै आएका छन्।

पछिल्ला साताहरूमा चीनले रुससँग संयुक्त सैन्य अभ्यास गर्नका लागि आफ्ना फौजहरू पठाएको छ।

र आफ्नो निकट सम्बन्धमा थप जोड दिनेगरी रुसी समकक्षीहरूलाई भेट्न समेत बेइजिङले वरिष्ठ अधिकारीहरूलाई त्यसतर्फ पठाएको छ।

पश्चिमा देशहरूले मस्कोमाथि आर्थिक प्रतिबन्धहरू लगाएका बेला रुसले आर्थिक सहायता समेत पाइरहेको छ।

बेइजिङ र मस्कोबीचको सम्बन्ध दुवै देशका लागि ‘आपसी जित’को विषय बनेको छ।

युरोपले रुसी तेल र ग्यासमाथिको निर्भरता कम गर्ने प्रयास गरिरहँदा चीनले आफ्नो ऊर्जा खरिद बढाएको छ जुन बताइए अनुसार बेइजिङले सहुलियत दरमा पाइरहेको छ। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट