राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी-Sutra News

राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी

मंगलबार, १८ माघ २०७८

मंगलबार, १८ माघ २०७८

नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।



साइकोमेट्रिक स्कोरिङले ऋणीको मूल्याङ्कन गर्ने प्रणालीलाई थप प्रविधिमैत्री बनाई सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारी र आइएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । जापान सरकार र संयुक्त अधिराज्य (बेलायत) सरकारसँगको साझेदारीमा नेपालको वित्तीय प्रणालीमा उक्त विधि दुई वर्षको लागि परीक्षण गर्न लागिएको हो ।

समझदारीबमोजिम यस विधिमार्फत लघु तथा खुद्रा कर्जा लिने व्यक्ति तथा लघु, साना र मझौला उद्यमहरूलाई औपचारिक वित्तीय सेवाको दायरामा ल्याउने अपेक्षा गरिएको छ । यसबाट विगतमा वित्तीय सेवाको पहुँच नपुगेका सेवाग्राहीमा वित्तीय सेवा विस्तारमा समेत सहज हुने विश्वास लिइएको छ । कार्यक्रममा गभर्नर अधिकारीले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा आइएफसी र राष्ट्र बैंकबीच विगतदेखि नै सहकार्य हुँदै आएको उल्लेख गर्दै नयाँ समझदारीको कार्यान्वयनबाट लघुकर्जा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरे ।

यसैगरी, आइएफसीका आवासीय प्रतिनिधि फायेले नयाँ सहकार्य गर्ने अवसर दिएकोमा राष्ट्र बैंकलाई धन्यवाद दिँदै समझदारीले वित्तीय पहुँच विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट