शिक्षक अभाव भएपछि पढाइमा समस्या-Sutra News

शिक्षक अभाव भएपछि पढाइमा समस्या

आइतबार, १ पौस २०८०

आइतबार, १ पौस २०८०

काठमाडौं । नेपालको ‘श्रीलंका टापु’ भनेर चिनिने बराह क्षेत्र नगरपालिका ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न जनशक्ति अभाव भएको छ ।



सप्तकोशीपारिको एक मात्र जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो । आवश्यकता अनुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकार जानकारी दिए ।

‘हामीले वर्षौंदेखि प्राथमिक तह (प्रावि) दरबन्दीका शिक्षकबाट नै आधारभूत तहसम्म अध्यापन गराइरहेका छौँ,’ उनले भने । कक्षा ५ सम्म पढाउने क्षमता भएका शिक्षकले ८ कक्षासम्म पढाइरहनु पर्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

श्रीलंका टापुलाई कोशीटप्पु पनि भन्ने गरिन्छ । यहाँ दुई हजारभन्दा बढी जनसंख्या छ । विद्यालयका शिक्षक सन्तोष चन्द्रवंशीका अनुसार श्रीलंका टापुभरिमा तीनवटा सामुदायिक विद्यालय छन् ।

जनता आधारभूत विद्यालयले २०६६ सालदेखि यस क्षेत्रका विद्यार्थीलाई कक्षा ८ सम्म अध्यापन गराउँदै आएको छ । तथापि शैक्षिकसत्र २०७८–७९ देखि नगरपालिकाको शिक्षा शाखाले शिक्षण सहयोग अनुदान भनेर एउटा निमावि (आधारभूत) दरबन्दी दिएको प्रधानाध्यापक कर्माकारले जानकारी दिए । उनले भने, ‘आधारभूत तह चलाउनै गाह्रो छ, त्यसै कारण गुणस्तरीय शिक्षा पनि दिन सकिएको छैन ।’

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दरबन्दी आवश्यकतालाई पूर्ति गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट