१४ औं महाधिवेशन ध्रुवीकरणरहित हुनुपर्छ – महर-Sutra News

१४ औं महाधिवेशन ध्रुवीकरणरहित हुनुपर्छ – महर

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीमा रूपान्तरण आवश्यक भएको बताएका छन्।



नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति ‘क’ प्रथम क्षेत्रीय अधिवेशन परशुराम नगरपालिका डडल्धुरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले पार्टीमा रूपान्तरणको खाँचो रहेको औँल्याएका हुन्।

कांग्रेसको १४औं महाधिवेशनमा नेताहरूले प्रस्ट खाका सहित रूपान्तरणको एजेन्डा बोकेर अगाडि बढ्नुपर्ने महरको भनाइ छ। कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउनतर्फ सबै लाग्नुपर्नेमा जोड दिँदै नेविसंघका पूर्व अध्यक्षसमेत रहेका महरले भने, ‘नेताहरूको व्यवहार, आचरणले राजनीतिप्रति वितृष्णा छ। त्यसलाई अन्त्य गर्नुपर्छ। त्यसका लागि गुट रहित कांग्रेस हुनुपर्छ।’

उनले १४औं महाधिवेशनलाई ध्रुवीकरण रहित महाधिवेशन बनाउनुपर्ने बताए। उनले त्यसका लागि पुराना नेताहरूले युवा पुस्तालाई पनि सँगसँगै लैजानुपर्ने महरले बताए।

यसका साथै महरले नेताहरूमा पद लुप्तता हुन नहुने धारणा राखेका छन्। ‘कांग्रेसका सवै तहमा एक व्यक्ति एक पद, दुई पटक मात्र बस्न पाउने वैधानिक ब्यबस्था गर्नु पर्दछ। एक व्यक्तिले दुई पटकभन्दा एउटा पदमा धेरै आकांक्षा गर्नु राम्रो होइन’, उनले भने।

उनले पछिल्लो समय राजनीतिमा नैतिकता ह्रास आइरहेको बताउँदै कांग्रेसको १४औं महाधिवेशनले त्यसको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन्। ‘अहिले जताततै नैतिकता नै आवश्यक छ। नैतिकवान् व्यक्तिले मात्रै आदर्श राजनीति गर्नसक्छ। मलाई विश्वास छ कांग्रेसको १४औं महाधिवेशनले त्यो खाडललाई पूर्ति गर्ने छ,’ उनले भने।

राजनीतिमा सबै कुरा सम्भव छ भन्ने पञ्चायतकालीन परिभाषा बदलेर राजनीति असल कामका लागि मात्र हो भन्ने सबैले बुझ्न आवश्यक रहेको नेता महरले बताए। ‘अहिले हामी २१औं सताब्दिमा बाचिरहेका छौं । जनभावना अनुसार र समय सापेक्ष राजनीति गर्न सकिएन भने त्यो कुनै हालतमा जनताको पक्षमा हुनसक्दैन। त्यसैले अहिले सबै तहबाट आउने नेतृत्व जनभावना बुझेको हुनेछ भन्ने मैले विश्वास लिएको छु’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट