बन्दले कैलालीका चार पालिकामा कांग्रेसकाे अधिवेशन राेकियाे-Sutra News

बन्दले कैलालीका चार पालिकामा कांग्रेसकाे अधिवेशन राेकियाे

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताकाे माग राख्दै नेकपा विप्लव समूहले आयाेजना गरेको नेपाल बन्दले कैलालीका चार स्थानीय तहमा कांग्रेस अधिवेसन प्रभावित भएकाे छ ।



महाधिवेशन प्रचारप्रसार समिति कैलालीका संयोजक नृप सुनारका अनुसार विप्लवले गरेको बन्दका कारण धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकाको पालिका अधिवेशन राेकिएकाे हाे ।

बन्दका कारण मतदाता तथा उम्मेदवार अधिवेशनस्थलसम्म जान नसक्दा स्थगित गरेकाे संयोजक सुनारले बताए । चारवटै पालिकामा भोलि (बुधबार) बिहान ८ बजेदेखि अधिवेशन सुचारू गर्ने निर्णय भएकाे उनले बताए ।

कैलालीका १३ मध्ये बाँकी नाै पालिकामा भने मंगलबारदेखि नै अधिवेशन सुरू भएको छ । उनका अनुसार कैलाली गोदावरी नगरपालिका, चुरे गाउँपालिका, मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा मंगलबारदेखि पालिका अधिवेशन सुरू भएको छ ।

क्रियाशील सदस्यता विवादका कारण निर्धारित मितिमा अधिवेशन हुन नसकेको कैलालीमा २५ कात्तिकदेखि वडा अधिवेशन सुरू भएको थियो । ३० कात्तिकमा पालिका अधिवेशन सम्पन्न गर्दै ३ मंसिरमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गर्ने तालिका रहेको छ । कैलालीमा ६ मंसिरमा संघीय निर्वाचन क्षेत्र अधिवेशन गर्ने र १० मंसिरमा जिल्ला अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट