ओलीको ‘ललीपप’मा यसरी फँसे रावल, भेट हुँदा ओली भन्छन् – कुन सहअध्यक्ष ?-Sutra News

ओलीको ‘ललीपप’मा यसरी फँसे रावल, भेट हुँदा ओली भन्छन् – कुन सहअध्यक्ष ?

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

गत असारको तेस्रो साता एमालेका उपाध्यक्ष भीम रावल ‘रअ’का प्रतिनिधिसँग भेटेपछि अध्यक्ष केपी शर्मा ओलीतिर लहसिएको समाचार आएको थियो । त्यतिबेलासम्म तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई दह्रो साथ दिएका रावल अन्तिम समयमा ओलीलाई साथ दिने निष्कर्षमा पुग्नुका पछाडि ओलीको आश्वासन र ‘रअ’का प्रतिनिधिसँगको भेट हुन् भनेर अहिले पनि राजनीतिक वृत्तमा चर्चा हुने गर्छ ।



यद्यपी ‘रअ’का प्रतिनिधिलाई भेटेको समाचारको खण्डन रावलले गरिसकेका छन् । तत्कालीन दश सदस्यीय कार्यदलमा माधवकुमार नेपाल पक्षको नेतृत्व गरेका रावल ओलीविरुद्ध निकै आक्रोशित देखिन्थे । कार्यदलले काम गरिरहेकै अवस्थामा उनले २ पटक ओलीलाई भेटे ।

ओलीसँगको भेटपछि रावल फेरिए । माधवकुमार नेपाललाई ओलीकै हैसियतमा अध्यक्ष बनाउने कुरा त्यतिबेला उठेको थियो । तर रावल र ओलीकै साँठगाँठमा नेपाललाई अध्यक्ष नबनाइएको चर्चा अहिले पनि एमालेमा चल्ने गर्छ । एमालेको विभाजन रोक्नका लागि त्यतिबेला दश बुँदे सहमतिसमेत गरियो । रावल र शंकर पोखरेलकै डिजाइनमा बनेको दश बुँदे सहमतिलाई नेपालले अस्वीकार गरेपछि पार्टी विभाजन भएको थियो ।

त्यतिबेला ओलीले रावललाई के भनेर आफ्नो पक्षमा पार्न सफल भएका थिए त ? एकीकृत समाजवादीका एक नेता भन्छन् – ‘त्यतिबेला ओलीले रावललाई सहअध्यक्ष बनाउँछु भनेर आश्वासन दिएका रहेछन् । रावललाई त्यति पाएपछि के चाहियो र ? उनी उता लागे, अहिले बिजोग भएको छ ।’

गत सालको पुस ५ गते तत्कालीन प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे । विघटनको विरोध सबैभन्दा धेरै रावलले नै गरेका थिए । विघटनपछि ओलीविरुद्ध गरिएको आन्दोलनको अग्रमोर्चामा रावल नै रहे । उनले ओलीको खोइरो खन्न कहीं र कतै बाँकी राखेनन् ।

फागुन ११ गते प्रतिनिधि सभाको पुनःस्थापना भयो । २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपाको एकतालाई भंग गरेर एमाले र माओवादी ब्युतायो । माधव नेपालले नेतृत्व गरेको एमालेको खेमा एमालेमै रहेर संघर्ष गर्ने निष्कर्षमा पुग्यो ।

सर्वोच्चले एमाले ब्युँताएपछि ओलीले आफूनिकट केन्द्रीय कमिटीको बैठक डाकेर एकलौटी निर्णय गरे । उनले केन्द्रीय कमिटी नै भंग गरेर महाधिवेशन आयोजक कमिटी बनाए । यो कुरा नेपाल पक्षलाई हजम भएन ।

चैतको पहिलो साता माधव पक्षले राष्ट्रिय भेला बोलायो । भेलामा नयाँ पार्टी बनाएर अघि बढ्नुपर्छ भन्नेमा रावल सबैभन्दा अगाडि थिए । उनी नयाँ पार्टीको विधानसमेत झोलामा राखेर लिएर हिंड्थे । रावल र सुरेन्द्र पाण्डेकै तजबिजीमा चुनाव चिह्न कलम राखेर नयाँ पार्टीसमेत दर्ता गरिएको थियो ।

तर एमालेमा रहेका दश भाइ भनिने नेताहरूले पार्टीलाई एकजुट बनाएर लैजाने सम्भावना पनि खोजिरहेका थिए । त्यही सम्भावनाले कार्यदल जन्मायो । तर कार्यदलले पार्टी एकजुट बनाउन सकेन । जुन दश बुँदेलाई आधार बनाएर नेपाल पक्षका दश भाइ एमालेमै रहे, त्यही सहमतिलाई ओलीले नमान्ने प्रष्ट गरिसकेका छन् ।

रावललाई त्यतिबेला दिएको आश्वासन पनि ओलीले कार्यान्वयन गर्ने कुरै रहेन । त्यतिबेला सहअध्यक्ष दिन्छु भनेका ओलीले एमाले टुक्रिएपछि ‘कुन सहअध्यक्ष ?’ भनेर रावललाई सोधेका थिए । रावलको सुदूरपश्चिमको इन्चार्ज पनि खोसियो । अहिले चलिरहेको अधिवेशनमा रावललाई सोध्दै नसोधी सुदूरपश्चिममा नेतृत्व चयन गरिएको छ । ओली र रावलबीचको संघर्ष यतिबेला निकै उत्कर्षमा पुगेको छ ।

पछिल्लो समय रावलको असन्तुष्टि यति धेरै बढेको छ कि उनी एमालेमै रहने कि नरहने भन्ने दोधारमा पुगेका छन् । दश भाइमध्ये सुरेन्द्र पाण्डे र योगेश भट्टराईले ओलीलाई पुरै आत्मसात गरिसकेका छन् भने रावलले ओलीविरुद्ध अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

९५ प्रतिशत भन्दा बढी वडा र पालिकामा सहमति भन्दै ओलीनिकट व्यक्तिहरू नेतृत्वमा आएका छन् । यसबाट रावल खुसी छैनन् । केन्द्रको महाधिवेशनमा पनि एमालेमा ‘ओली भर्सेस नोबडी’ जस्तो स्थिति देखिइसकेको छ ।

ओलीनिकट एक नेता भन्छन् – ‘बेलाबेलामा रंग फेर्नेहरूलाई अध्यक्ष ओलीले रुचाउने कुरै भएन । उनीहरूले (रावल लगायत दश भाइ) त सडकबाटै अध्यक्षको कुर्ची खोसेका हुन् । तर पनि अध्यक्ष ओलीले उनीहरूलाई समानजनक ढंगबाट एमालेमा रहन दिनुभएको छ । विधान महाधिवेशनले नै ओलीको नेतृत्व स्वीकारिसकेको अवस्था छ ।’ उनले वडाअध्यक्षसमेत जित्न नसक्नेले पार्टीको अध्यक्षमा दाबी गर्नु हास्यास्पदसमेत रहेको बताए ।

रावलको राजनीति यतिबेला ‘भूतो न भविष्यति’ जस्तो देखिएको छ । यद्यपि महाधिवेशनपछि छुट्टै तरिकाले सोच्नुपर्ने भन्दै रावलले आफूनिकट नेताहरूलाई ब्रिफिङ गर्ने गरेका छन् । आगामी महाधिवेशनले ओलीलाई नै अध्यक्ष चयन गर्ने हो भने विधानमा रहेको उमेरहदको व्यवस्थाका कारण रावललगायत दर्जन भन्दा बढी नेताहरूको राजनीतिक भविष्य बढारिने सम्भावना छ ।

नेकपा एसका नेताहरूले भने एमालेमा रावल अटाउन नसक्ने र अन्ततः आफ्नै पार्टीमा आउने दाबी गरिरहेका छन् । ‘भीम रावललगायतका केही नेताहरू महाधिवेशनपछि यता आउने सुरसारमा हुनुहुन्छ,’ एसका एक नेताले भने, ‘यताको विधानमा उमेरहदको व्यवस्था गरिएको छैन । उहाँहरू आए स्वागत गरिन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट