मङ्सिर १० देखि १२ सम्म चितवनमा हुने नेकपा एमालेको दशौँ महाधिवेशनका लागि पदाधिकारीहरूले अझैसम्म उम्मेदवारी दिएका छैनन् । वडा र पालिकाको नेतृत्वसँगै महाधिवेशन प्रतिनिधिको छनोट पनि ओलीकै इशारामा सर्वसम्मत भएकाले महाधिवेशनबाट चुनिएर आउने पदाधिकारी पनि ओलीकै निर्देशनमा चुनिने पक्का छ ।
गत असोज १५ गते भएको विधान महाधिवेशनमा पार्टीमा एक वरिष्ठ उपाध्यक्ष रहने तय भएको थियो । महासचिव ईश्वर पोखरेललाई लक्षित गरेर वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरिएको चर्चा त्यतिबेलै चलेको थियो । तर दशौँ महाधिवेशनको मिति नजिकिदै जाँदा उक्त पदमा ४ जना आकांक्षीले आँखा गाढेका छन् ।
यसअघि भएका आठौँ र नवौं महाधिवेशनमा एमालेले चुनावमार्फत नेतृत्व चुनेको थियो । नवौं महाधिवेशनमा छुट्टै प्यानल नै बनाएर लडेका माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी खोलेपछि यतिबेला एमाले ओलीको एकलौटी पार्टी बनेको छ ।
महाधिवेशनबाट ओली अर्को पाँच वर्षे कार्यकालका लागि अध्यक्ष हुने पक्कापक्की जस्तै भएको छ भने अन्य पदमा अहिलेसम्म कसैले उम्मेद्वारी दिएको छैन । विधान महाधिवेशनले एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने संरचना तयार गरेको थियो ।
महाधिवेशनको संघारमा रहेको एमालेका नेताहरू भने उम्मेदवारीका सम्बन्धमा तैं चुप, मै चुपको स्थितिमा छन् । अध्यक्ष ओलीले पनि आफ्नो मुख खोलिसकेका छैनन् । ओलीले माओवादी केन्द्रबाट आएका र माधवकुमार नेपालको साथ छोडेर एमालेमै रहेका नेताहरूलाई मिलाएर लैजाने प्रयास गरिरहेका छन् ।
एमालेमा अध्यक्षपछि सबैभन्दा शक्तिशाली पद वरिष्ठ उपाध्यक्ष र महासचिवको हुनेछ । अहिलेसम्म वरिष्ठ उपाध्यक्ष र महासचिव दुवै पदका उम्मेदवार को हुनेछन् भन्ने कसैले घोषणा गरेको अवस्था छैन ।
स्रोतका अनुसार पूर्वमाओवादी खेमाबाट रामबहादुर थापा ‘बादल’ले वरिष्ठ उपाध्यक्ष दाबी गर्ने गरेका छन् । उनले ओलीसँग पटक-पटक भेट गरेर एकताको मर्मलाई कायमै राख्न वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने दाबी गरेका हुन् । गत सालको पुस पहिलो साता आफूलाई सहयोग गरेबापत ओलीले बादललाई सहअध्यक्ष दिने आश्वासन दिएका थिए । तर त्यो कार्यान्वयन हुन सकेको छैन ।
वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी हुन् भीम रावल । पछिल्लो समय ओलीको आँखाको कसिंगर बनेका रावलले सुदूरपश्चिमबाट आफूले अध्यक्षको उम्मेद्वारी दिने अनौपचारिक घोषणा त गरे । त्यो वरिष्ठ उपाध्यक्ष पदका लागि बार्गेनिङ भएको ओलीनिकट नेताहरू बताउने गर्छन् । रावलले आफूले वरिष्ठ उपाध्यक्ष पाए माधव नेपालसँग विद्रोह गरेर आएको समूह खुसी हुने दाबी गरिरहेका छन् । रावल अहिले एमालेका उपाध्यक्ष हुन् ।
त्यस्तै ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्षका अर्का प्रमुख दाबेदार हुन् । एक कार्यकाल महासचिव भइसकेका पोखरेल विधानअनुसार पुनः अर्कोपटक महासचिव बन्न सक्दैनन् । ओलीनिकट रहेर काम गरिरहेका पोखरेलले आफ्नो स्वाभाविक दाबी वरिष्ठ उपाध्यक्षमा हुने बताइरहेका छन् । यद्यपी ओलीले पोखरेललाई अहिल्यै आश्वासन भने दिइसकेका छैनन् । माओवादी खेमा र माधव नेपाललाई छोडेर एमालेमै रहेका नेताहरूको व्यवस्थापन गर्नुपर्ने चुनौती ओलीलाई छ ।
नवौं महाधिवेशनले चुनेका पाँच जना उपाध्यक्षमध्ये वामदेव गौतमले पार्टी छाडेका छन् भने विद्यादेवी भण्डारी राष्ट्रपति छन् । तीबाहेक भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली स्वाभाविक रूपले वरिष्ठ उपाध्यक्षका आकांक्षी हुन् । यसो गर्दा वरिष्ठ उपाध्यक्ष दाबी गर्नेहरू आधा दर्जनसम्म पुग्छन् ।
महाधिवेशनअघि केही नबोल्ने र महाधिवेशनभित्र गुपचुप पदाधिकारी घोषणा गर्ने रणनीतिमा ओली छन् । ओलीको यस्तो रणनीति बुझेका पूर्व माओवादी नेताहरू सशंकित छन् । अन्तिम अवस्थामा आएर आफूहरूलाई धोका दिने त होइन भन्दै पूर्व माओवादी नेताहरू अहिले ओलीनिकट नेताहरूको दैलो चाहारिरहेका छन् ।
विभाजनपूर्व एमालेमा माधव नेपाल समूहबाट धेरै पदाधिकारी चुनिएका थिए । पार्टीलाई एकलौटी ढंगबाट चलाउन ती पदाधिकारीले ओलीलाई रोकेको ओलीले बुझेका छन् । त्यसैले दशौँ महाधिवेशनमा ओलीले पदाधिकारीमा आफ्ना विश्वासपात्रहरू मात्र राख्ने रणनीति बनाएका छन् ।
यसो गर्दा पूर्व माओवादीबाट केहीलाई समेट्ने र पहिला माधव नेपाल समूहमा लागेकाहरूलाई पाखा गर्ने सम्भावना बढी देखिन्छ । यसको छनक महाधिवेशन प्रतिनिधिको छनोटमै देखिइसकेको थियो । ओली पक्षले देशैभरिबाट ९० प्रतिशत भन्दा बढी प्रतिनिधि आफ्नो पक्षबाट छानेको छ ।
महाधिवेशन प्रतिनिधि छनोटमा भीम रावललगायत नेताहरूले असन्तुष्टि जनाएका छन् भने पूर्व माओवादी नेताहरू पनि खुसी छैनन् । नेकपाकै निरन्तरतामा पछिल्लो एमाले बनेको धारणा राख्ने पूर्व माओवादी समूहबाट निकै कम महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।