उदयपुरमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, १९ जना घाइते-Sutra News

उदयपुरमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, १९ जना घाइते

बिहिबार, २ मंसिर २०७८

बिहिबार, २ मंसिर २०७८

उदयपुरको गाईघाटबाट ताप्ली गाउँपालिका जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।



मदन मण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–६ दनुवारबेसीमा ट्याक्टर दुर्घटना हुँदा त्रियुगा नगरपालिका–९ गैरुनका ४० वर्षीय बौका सदाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

गाईघाटबाट ताप्ली गाउँपालिका भवनको ढलानका लागि मजदुर लिएर हिँडेको प्र २–०१–००१ त १०८३ नम्बरको ट्याक्टरमा सवार सदाको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो ।

ताप्ली गाउँपालिका भवन ढलानका लागि हिँडेका मजदुर गाईघाटबाट बिहान ५ बजे हिँडेको थियो । उदयपुरगढी गाउँपालिका–६ दनुवारबेसीमा बिहान ८ः५० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएको सदाको उपचारको क्रममा ज्यान गएका हुन् । दुर्घटनामा घाइतेमध्ये त्रियुगा नगरपालिका–९ गैरुनका मृतक सदाका श्रीमती ४० वर्षीया नारायणवति सदा, १६ वर्षीय सकुन सदा, त्रियुगा नगरपालिका–१० करमगाछीका ट्याक्टर चालक २० वर्षीय दिवस सार्की गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते तीनै जनालाई जिल्ला अस्पाताल गाईघाटमा उपचारपछि थप उपचारका लागि विराटनगर पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अन्य १५ जना सामान्य घाइतेहरूलाई उपचारका लागि घटनास्थलबाट जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

उनीहरू सबै गाईघाटबाट ताप्ली गाउँपालिका रूपाटारमा भवन ढलानको लागि जाँदै गरेको अवस्थामा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट