व्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङ्ग्रु र तिन्कर गाउँ करिब १२ किलोमिटर दूरीमा छन्। क्रमशः ३२ सय मिटर र ३६ सय मिटरको उचाइमा। हिउँद लागेपछि ती दुवै गाउँमा बस्न नसकिने हुन्छ।
प्रत्येक वर्ष तिहार मनाइसकेर त्यहाँका गाउँलेहरू ओरालो लाग्छन्। बस्तुभाउ, भाँडाकुँडासहित भारतको बाटो हुँदै दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा पुग्छन्। छ महिना जाडो छलेर मध्य वैशाखमा पुनः गाउँ फर्किन्छन्।
यस वर्ष भने छाङ्ग्रु र तिन्करका बासिन्दाले अझै सदरमुकामतिरको यात्रा थालेका छैनन्। किनकि वडाअध्यक्ष अशोक सिंह बोहराले भनेका छन्ः “जनगणनाका लागि मान्छे आउँछन्। त्यो सकेर मात्र झर्नू।”
तर यस दुर्गम ठाउँमा सडकको पहुँच नभएकै कारण गणकहरू पुग्न सकेका छैनन्। आफ्नै देशको एउटा कुनाबाट अर्कोमा पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यताका कारण जनगणनाजस्तो महत्त्वपूर्ण कार्य प्रभावित भएको अधिकारीहरू बताउँछन्।
“पैदल हिँड्ने गोरेटो पनि ध्वस्त भएको छ। भारतको बाटो हिँड्नुको विकल्प छैन। गणकहरूले त्यहीँ बाटो हिँड्ने अनुमति पाएका छैनन् रे। कहिले आउँछन् टुङ्गो छैन। धेरै ढिला भयो भने गाउँलेहरू सपरिवार बसाइँ सर्न थाल्छन्,” व्यास गाउँपालिका १ का वडाअध्यक्ष अशोक सिंह बोहराले भने।
स्थानीयवासी नरेन्द्र तिन्करी जनगणनालगत्तै गाईबस्तु लिएर खलङ्गा जाने बताउँछन्।
“चिसो निकै बढिसक्यो। छाङ्ग्रुमा त मङ्सिरको मध्यसम्म बस्न सकिन्छ तर यहाँ सकिँदैन। त्यसैले चाँडोभन्दा चाँडो काम सकिदिए हुन्थ्यो,” उनले भने। बीबीसि