सन् २०१८ को नोभेम्बरमा भारतीय योग गुरू रामदेवले ‘ पतञ्जली परिधान उत्पादन’का नाममा कपडाको पसल खोले । आफ्ना सबै उत्पादनलाई जस्तै उनले यसलाई भारतीय उत्पादनका नाममा ब्रान्डिङ गरे । उनको पसलमा रहेका केही जिन्स पाइन्टहरू घुँडा वरिपरी च्यातिएका ‘ग्रन्ज गरिएका’ थिए । उनको पसलमा पुगेका ‘द प्रिन्ट’का एकजना रिपोर्टरलाई उनले भने, ‘जिन्सलाई ठिक्क मिलाएर च्यातिएको छ, भारतीय संस्कारको घेरामै रहेर हामीले जिन्स पाइन्ट उत्पादन गरेका हौँ ।’
जिन्समा मात्र होइन, अन्य धेरै उत्पादनमा उनले भारतीय संस्कारको सीमा तोकेका छन् । भारत त्यो देश हो जसले हजारौं वर्षदेखि पूर्वीय सभ्यताको नेतृत्व गर्यो । धर्म र संस्कार र राजनीतिबारे अनेक व्याख्या गर्ने ऋषिमुनीदेखि लिएर प्राचिन भारतका त्यस्ता कैयौं हस्तीहरू छन्, कतिपयको जीवनी नेपालकै स्कूलका पढाइने पाठ्यक्रममा समेत समावेश गरिएको छ ।
आधुनिक भारतका स्वामी विवेकानन्द, रविन्द्रनाथ टैगोर, महात्मा गान्धी जस्ता नामहरू इतिहास पढ्ने संसारका कुनै पनि व्यक्तिको मुखमा झुण्डिएको हुनुपर्छ । तर भारतमा जब भारतीय जनता पार्टीले सन् २०१४ देखि सरकार चलाउन थाल्यो, रामदेवलाई भारतको व्यापार र संस्कारको ‘ब्राण्ड एम्बेसडर’को जिम्मेवारी दिइएको छ । जिन्स पाइन्टबारे रामदेवले द प्रिन्टका रिपोर्टरलाई जे भने त्यसले उनले बुझेको संस्कारलाई भारतवर्षको ऐतिहासिक संस्कारले कुरीकुरी गरेको छ ।
भारतकै अर्का बाबातर्फ जाऔं । जग्गी वासुदेव नाम भएका एक बाबा जसले आफूलाई ‘सदगुरु’का नामले चिनाउँछन् उनी पनि भारतको संस्थापन पक्षका निकै नजिकका व्यक्ति हुन् । गत भदौमा उनले नेपालको हुम्लाको सिमीकोटदेखि लिमीसम्मको भ्रमण पनि गरेका थिए । उनका ‘फ्यान’ भारत र नेपालमा मात्र होइन, संसारभर करोडौंको संख्यामा रहेका छन् ।
७ मार्च, २०१७ मा आयोजित एक प्रवचनमा जग्गी वासुदेवले महिलाको शरीरको ‘इनर इन्जिनियरिङ’बारे बोलिरहेका थिए । उनले भनेका थिए, ‘एउटी महिलाले छोरा जन्माइन् भने उनको शरीरले उत्पादन गर्ने दूधको गुणस्तर एक प्रकारको (छोरी मान्छेलाई आवश्यक पर्ने खालको) हुन्छ । छोरी जन्माइन् भने दूधको गुणस्तर पुरै अर्कै हुन्छ । यदि उनले एउटा छोरा र एउटी छोरी गरेर जुम्ल्याहा बच्चा जन्माइन् भने एउटा स्तनबाट एक प्रकारको र अर्को स्तनबाट अर्को प्रकारको दूध आउँछ ।’
सुत्केरी महिलाका दुवै स्तनबाट फरक-फरक दूध आउँछ भनेर दाबी गर्दै उनले दिएको प्रवचनमा स्त्रीविज्ञहरू पनि सामेल थिए तर उनीहरूले जग्गीलाई कुनै प्रश्न गर्न सकेनन् । सन् २०१८ मा सुडानको ‘जर्नल अफ मोलिक्युलर बायोलोजी एण्ड बायो टेक्नोलोजीमा प्रकाशित एक रिसर्चमा डाक्टरहरू सलमा डाफल्लाह, मुताज एमिन, अमर मोहम्मद र इमान काब्राले फरक-फरक लिंगका जुम्ल्याहा बच्चा पाउने महिलाको स्तनबाट फरक-फरक दूध नआउने स्पष्ट पारेका थिए ।
यससम्बन्धमा कैयौं रिसर्च भएका छन् । हावर्ड, मिचिगन स्टेट जस्ता विश्व प्रसिद्ध विश्वविद्यालयले पनि यसबारे रिसर्च गरेका छन् । अनुसन्धानमा छोरा पाउने महिला र दुवै छोरी पाउने महिलाको स्तनबाट निस्कने दूधको फ्याट भने फरक अनुपातमा आउने मात्र पुष्टि भएको छ ।
अर्थात् जग्गी वासुदेवले दिएको तेस्रो स्टेटमेन्ट झुटो थियो । उनको झूटलाई साँचो मान्नेहरूले कमसेकम एउटा प्रश्न मात्र आफूलाई गरे हुन्छ । के फरक लिंगका जुम्ल्याहा पाउने महिलाले आफ्नो दुईमध्ये एउटा स्तन छोरालाई मात्र र अर्को छोरीलाई मात्र छुट्याउँछिन् त ? उनलाई कसरी थाहा हुन्छ कि एउटा स्तनबाट छोराको लागि र अर्कोबाट छोरीका लागि मात्र दूध आउँछ ?
जग्गी बासुदेवका यस्ता अन्य झूटका बारेमा गत भदौमै लेखिका विभु लुइँटेलले नेपालखबर अनलाइनमा ‘सद्गुरुका असत विचार’ शीर्षकको लेखमा प्रष्ट पारेकी छिन् ।
अब प्रसंग बदलौं । आफूलाई फायरबाखको भौतिकवादी र हेगेलको द्वन्द्ववादी दर्शनको फ्यूजनसहितको द्वन्द्वात्मक भौतिकवादी मान्ने र नेपालको सन्दर्भमा त्यसको प्रयोग गर्ने (व्यावहारिक होइन) प्रयास गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जग्गी वासुदेवलाई अचानक भौतिकवादी र रामदेवलाई क्रान्तिकारी देख्न शुरू गरेका छन् ।
यसका दुईवटा उदाहरण छन् । २०७५ सालको फागुन पहिलो हप्ता आयोजना गरिएको कान्तिपुर कन्क्लेभमा प्रचण्डले सद्गुरुजस्तो भौतिकवादी कोही नभएको टिप्पणी गरे । कान्तिपुरका सम्पादक सुधिर शर्माले सोधेको एक प्रश्नमा प्रचण्डले भनेका थिए, ‘बेलुका सुत्ने बेलामा चाहिँ सदगुरुका प्रवचनहरू पनि हेर्छु । कहिलेकाहीँ सदगुरुका प्रवचन सुन्दासुन्दै निदाउँछु । तपाईंहरू भ्रममा नपर्नु होला, म धर्म, अन्धविश्वासतर्फ लागेको होइन, सदगुरु जति भौतिकवादी कोही छैन ।’
प्रचण्डले नै सद्गुरु जस्तो भौतिकवादी कोही छैन भनेपछि कुरा सकियो । यसको अर्थ कार्ल मार्क्स भन्दा बढी भौतिकवादी जग्गी हुन् भन्ने पनि लाग्न सक्छ । प्रचण्डले सुन्दासुन्दै निदाएपछि मात्र स्तन र दूधसम्बन्धी जग्गी वासुदेवको प्रवचन उनको फोनमा बजेको हुनसक्छ । अथवा उनका प्रवचनहरू यति धेरै छन् कि महिनावारी बार्नुपर्छ भन्ने प्रवचन प्रचण्डले सुन्न नपाएको पनि हुन सक्छ । अथवा जग्गी वासुदेवले दाबी गरेका कुराहरूको फ्याक्ट चेक गर्नतिर लाग्नुभन्दा विश्वास नै गरिदिउँ न त भन्ने पनि प्रचण्डलाई लागेको हुन सक्छ । ‘फ्याक्ट चेक गरेर के दिमागलाई बोझ थप्नु ? समयको बर्बादी मात्र’ भन्दै प्रचण्डले बेवास्ता पनि गरेको हुन सक्छ ।
अर्को उदाहरण शुक्रवार देखियो । शुक्रवार बिहान पतञ्जली योगपीठको भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सुरुसुरुमा लाग्थ्यो उहाँ अलि बढी रुढीवादी हुनुहुन्छ होला, अलि बढी परम्परावादी हुनुहुन्छ होला तर छलफल र संगत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी हुनुहुँदोरहेछ ।’
प्रचण्डले थपे, ‘योगको माध्यमबाट आरोग्यतिर, निरोगितातिर पूरै समाजलाई लैजाने अभियानको नेतृत्व उहाँले गर्नुभयो । आरोग्यताबाट महा उद्योगको उत्पादनतिर र सञ्चालनतिर लाग्नुभयो । त्यसकारण बाबा रामदेव र आचार्य बालकृष्ण थ्रि इन वान हुनुभयो ।’
भारतमा हिन्दू धर्मको प्रचार गरिरहेका जग्गी वासुदेव र रामदेव प्रचण्डका नजरमा अहिले क्रान्तिकारी ठानिएका छन् । यद्यपी प्रचण्ड त्यस्ता नेता हुन् जतिबेला जे आवश्यकताबोध गर्छन् त्यतिबेला त्यही बोलिदिन्छन् । उनी कहिले तराई पुगेर मोदीले सुन्ने गरी हिन्दीमा भाषणसमेत गर्छन् भने मुस्लिम धर्मावलम्बीहरूले आयोजना गरेको कार्यक्रममा पैगम्बर मोहम्मदको तारिफ गर्छन् । एकपटक त उनले सिद्धबाबा कृष्णदास महाराजाको लहैलहैमा लागेर भैंसीपूजासमेत गरे । यौनकाण्डमा मुछिएका ‘नेपाली बाबा’का रूपमा कृष्णदासले परिचय बनाए, त्यो पछिको कुरा भयो ।
केही प्रश्नहरू प्रचण्डसामू अहिले तेर्सिएका छन् । प्रचण्डको वैचारिक ‘विचलन’लाई भीडको मनोविज्ञान बुझ्ने क्रममा भएको गल्ती भनेर के त्यतिबेला जनयुद्धमा सहिद भएका ‘क्रान्तिकारी’ले माफ देलान् त ? के प्रचण्डले त्यतिबेला बुझेको भौतिकवाद र क्रान्तिको परिभाषा अहिले फरक भएको हो ? कि जग्गी वासुदेवलाई भौतिकवादी र रामदेवलाई क्रान्तिकारी देख्ने प्रचण्डको चश्माको नम्बर फेरिएको हो ? इतिहासले यसको उत्तर मागोस् नमागोस्, अहिलेको पत्रकारिताले प्रश्न जरुर सोध्नुपर्छ ।