यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको महाधिवेशनमा उपस्थित हुन अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो पठाएका छन् ।
शुक्रवार एमाले नेता सुवासचन्द्र नेम्वाङ र राजन भट्टराईले बालुवाटार नै पुगेर निम्तो हस्तान्तरण गरेका हुन् ।
निम्तो हस्तान्तरण गरेपछि नेम्वाङले भने, ‘महाधिवेशनमा सबै राजनीतिक पार्टीलाई निम्तो दिने चलन छ । त्यहीअनुसार हामीले कांग्रेस सभापति र प्रधानमन्त्रीका रूपमा देउवाजीलाई निम्तो दिएका हौँ । उहाँले आउँछु भन्नुभएको छ ।’
देउवालाई मात्र नभएर एमालेले सबै राजनीतिक दललाई निम्तो दिएको छ । तर एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीलाई भने निम्ति गरिएको छैन ।
पार्टी फुटाएर गएको भन्दै एमालेका नेता कार्यकर्ता नेकपा एससँग रुष्ट छन् । केही साता अघि एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अवैधानिक गर्भबाट बनेको पार्टीलाई एमालेले नचिन्ने बताएका थिए ।