मानसिक स्वास्थ्य: किशोरकिशोरीमा चिन्ता र डिप्रेसनजस्ता समस्या बढ्दो-Sutra News

मानसिक स्वास्थ्य: किशोरकिशोरीमा चिन्ता र डिप्रेसनजस्ता समस्या बढ्दो

शनिबार, ४ मंसिर २०७८

शनिबार, ४ मंसिर २०७८

यूकेका बाल परोपकारी संस्थाहरूका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्या लिएर सहयोग खोज्दै आउने किशोरकिशोरीहरूको सङ्ख्या बढिरहेको छ।



बीबीसीले नर्थह्याम्प्टनशायरमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रभावित युवायुवती र उनीहरूलाई मद्दत पुर्‍याउनेहरूसँग कुराकानी गरेको छ।

अत्यधिक शैक्षिक र सामाजिक दबावले लियामलाई आफ्नै जीवनको अन्त्य गर्ने सोचमा पुर्‍यायो। १७ वर्षीयले उनले आफूमा चिन्ता बढेर परिस्थिति कति खराब बन्यो भन्ने बारे सुनाए: “मेरो टाउकोमा आवाजहरू गुञ्जिन थाल्यो।”

एक बिहान उनी जुरुक्क उठे र घरबाट निस्किए। उनी बेपत्ता भएको बारे प्रहरीमा निवेदन दिइएको थियो। कुनै हानि हुनुअघि उनी भेटिए।

“मैले परामर्शदाताहरूको सहयोग पाउनको लागि घरै छोडेर हिँड्ने गतिविधि गर्नु पर्‍यो,” लियामले भने।

“म धेरै समयको लागि प्रतीक्षा सूचीमा थिएँ र त्यो मेरो जीवनको महत्त्वपूर्ण मोड थियो।” मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोग्ने र सहयोग खोज्नेमा लियाम एक्लो छैनन्।

एक संस्था एनएसपीसीसीका अनुसार गत वर्ष चिन्ताका कारण मद्दत खोज्दै आउने बालबालिकाको सङ्ख्यामा ३५ प्रतिशत वृद्धि भएको छ।

द चिल्ड्रेन्स सोसाइटीको तथ्याङ्कले पछिल्लो तीन वर्षमा किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या हुने सम्भावना आधाले बढेको देखाएको छ।

द च्यारिटी नामक संस्थाका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका तीनचौथाइ युवाहरूले आवश्यक सहयोग पाएका छैनन्।

यो तथ्य डा. स्यान्टियागो निटोका लागि नौलो होइन।

नर्थह्याम्प्टनको एबिङ्टन एभिन्यूस्थित स्वास्थ्य संस्थामा काम गर्ने निटोले अहिले मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू १० वर्ष पहिलेभन्दा “ठूलो मात्रा” भएको बताए।

“गम्भीर चिन्ता, अवसाद (डिप्रेसन), आत्महत्या वा आत्महत्याको प्रयास गर्ने धेरै घटनाहरू बढेको छ। अवस्था गम्भीर छ,” उनले भने।

डा. निटोले सामाजिक सञ्जाल एक प्रमुख समस्या भएको बताए। धेरै बच्चाहरू फोनका कारण ढिलोसम्म सुत्दैनन्।

उनले भने, “सामाजिक सञ्जालले जीवनको धेरै नराम्रो पाटो देखाउँछ। यो स्वस्थ छैन। यसको प्रयोग गर्दागर्दै चलाउन अल्छी लाग्ने समय आउनुपर्छ।”

धेरै युवाहरूले आफ्नो चिकित्सकसँग मानसिक स्वास्थ्यको बारेमा कुरा गर्दैनन्। सिन्डी राइटिङ केटरिङमा सञ्चालित एक युवासम्बन्धी संस्था ‘यूथ वर्क’की प्रमुख कार्यकारी हुन्।

उनी युवाहरूलाई परामर्श, ड्रप-इन सत्रहरू (जसमा जोकोही पनि परामर्शका लागि आउन सक्छ) र सल्लाहहरू प्रदान गर्छिन्। उनका अनुसार केही वर्षयता चिन्ताको समस्या व्यक्त गर्ने युवाहरू बढेका छन्। परोपकार संस्थाको परामर्शका लागि प्रतीक्षा सूचीमा करिब १७० जना युवा छन्। बीबीसी

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट