आफूपछिको नेतृत्व विप्लवलाई हस्तान्तरण गर्ने तयारीमा प्रचण्ड, तनावमा जनार्दन र वर्षमान !-Sutra News

आफूपछिको नेतृत्व विप्लवलाई हस्तान्तरण गर्ने तयारीमा प्रचण्ड, तनावमा जनार्दन र वर्षमान !

शनिबार, ४ मंसिर २०७८

शनिबार, ४ मंसिर २०७८

राष्ट्रिय राजनीतिको मूलधारमा नरहेको नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेकपा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रबीच एकता हुने चर्चाले यतिबेला राजनीतिक बजार तातेको छ ।



माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको सक्रियतामा दुवै दलबीच तत्काल कार्यगत एकता गरेर भविष्यमा पार्टी नै एक बनाउने गरी सहमति हुन लागेको स्रोतले दाबी गरेको छ ।

सोही प्रयासस्वरूप शनिवार विप्लवसहितका केही नेताहरूले प्रचण्डसँग भेट गरेका छन् । आजको भेटमा तत्काल सहकार्य गर्ने र भविष्यमा एकता गर्ने विषयमा छलफल भएको खुमलटार स्रोतले बतायो ।

‘दुवै पार्टीबीच सहकार्य र एकता गर्ने विषयमा छलफल भएको थियो,’ स्रोतले भन्यो, ‘तत्काल सहकार्यमार्फत अघि बढ्ने र त्यसपछि पार्टी एकता नै गर्ने गरी भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव विप्लव दुवै सकारात्मक देखिनुभएको छ ।’

केही दिनअघि महराले सूत्रन्यूजसँग भनेका थिए, ‘दुवै पार्टीका नेताहरूबीच निरन्तर भेटवार्ता भइरहेको छ । हामीलाई एक हुन नदिने शक्तिहरुपनि लागिरहेका छन् । तर जनयुद्धबाट आएका सबै घटकहरूको बीचमा एकता जरुरी छ र हामीले त्यही अनुसार छलफल अघि बढाएका छौं ।’

स्रोतका अनुसार प्रचण्डले आफूपछिको नेतृत्व विप्लवलाई हस्तान्तरण गर्ने आश्वासनसमेत दिएका छन् । केही साताअघि एक कार्यक्रममा सार्वजनिक सम्बोधन गर्दै प्रचण्डले पार्टीको नेतृत्व लिन कोही अघि नसरेको टिप्पणी गरेका थिए ।

प्रचण्ड एकाएक विप्लवप्रति नरम हुन थालेपछि माओवादीको नेतृत्वमा आउने आकांक्षा राखेका वर्षमान पुन र जनार्दन शर्मा भने झस्किएका छन् ।

गत असोजमा जनार्दन शर्माले आफूनिकट पत्रकारको भेला गर्दै आफूले अबको पार्टीको नेतृत्व गर्ने संकेत गरेका थिए । देशभर आफ्नो अवस्था कस्तो छ भनेर शर्माले पत्रकारबाट ब्रिफिङ समेत लिएका थिए ।

पार्टी नेतृत्वको आकांक्षीका रूपमा शर्मा र पुन पहिल्यैदेखि प्रतिस्पर्धामा छन् । तर प्रचण्डले झ्याप्पै विश्वास भने गरिहालेका छैनन् । विप्लवसँग पार्टी एकता गरेर उनलाई तत्काल महासचिव बनाउने र भविष्यमा पार्टीको नेतृत्व सुम्पने प्रचण्डको तयारीलाई शर्मा र पुनले निको मानेका छैनन् ।

शर्मा र पुन जस्तै नारायणकाजी श्रेष्ठ पनि पछिल्लो समय प्रचण्डसँग रुष्ट बनेका छन् । माओवादी केन्द्रको प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रचण्डले महरालाई ल्याएका थिए । यतिबेला श्रेष्ठ र प्रचण्डबीच कुराकानी हुनै छाडेको स्रोतको दाबी छ ।

विप्लवनिकट स्रोतले भने महासचिव लगायत कुनै पनि पदमा सहमति नभइसकेको दाबी गरेको छ । ‘संसदीय व्यवस्थाविरुद्ध लडेका शक्तिहरू एक भएर अगाडि आउनुपर्छ भन्नेमा कुनै दुईमत रहेन,’ एक नेताले भने, ‘संसदीय प्रणाली अन्त्य गरेर वैज्ञानिक समाजवाद लागू गर्न सहमत जुन सुकै पार्टीसँग पनि हाम्रो सहकार्य र एकता हुन्छ । त्यसै क्रममा आज प्रचण्डसँग भेट भएको हो । उहाँ अहिले अलि लचक देखिनुभएको छ ।’

प्रचण्डले विप्लवमात्र नभएर मोहन वैद्य, विश्वभक्त दुलाल र अन्य साना कम्युनिस्ट घटकलाई पनि सँगै पार्टीमा ल्याउने कसरत थालेका छन् । नेकपासँगै अन्य चार दल रणनीतिक मोर्चामासमेत सामेल छन् । सोही मोर्चासँग तत्काल कार्यगत एकता गर्ने र पछि पार्टी एकीकरणसम्म गर्ने गरी प्रचण्डले कदम चालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट