गाँजा बेचेको आरोपमा अमेजनका कार्यकारी निर्देशकलाई मुद्दा-Sutra News

गाँजा बेचेको आरोपमा अमेजनका कार्यकारी निर्देशकलाई मुद्दा

सोमबार, ६ मंसिर २०७८

सोमबार, ६ मंसिर २०७८

भारतमा गाँजा तस्करीका लागि अनलाइन किनमेल वेबसाइट एमजन प्रयोग भएको आरोप लागेपछि उक्त कम्पनीका वरिष्ठ अधिकृतहरूमाथि लागुपदार्थ कारोबारको मुद्दा परेको छ।



गत साता मध्यप्रदेश प्रहरीले दुई व्यक्तिलाई भारतका अन्य राज्यमा २० केजी गाँजा तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो। ती व्यक्तिले एमजन वेबसाइटमा “स्टिभिया” को पात भन्दै भाङ बेचेका थिए।

एमजनले आफ्नो साइटमा गैरकानुनी पदार्थ बेच्न राख्न नपाइने नियम भएको बताएको छ।

कम्पनीले त्यस्तो कार्य गर्ने व्यापारीमाथि कडा कारबाही गर्ने बताएको छ।

“यो विषय हामीलाई जानकारी गराइएको छ र हामी अहिले यसमाथि अनुसन्धान गरिरहेका छौँ,” एमजनले एउटा विज्ञप्तिमा भनेको छ।

राज्य प्रहरीले एमजन इन्डियामा कार्यकारी निर्देशकहरूमाथि लागुऔषधसम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाइएको बताएको छ।

“अनुसन्धानको क्रममा दिइएको दस्ताबेजमा फरकफरक कुरा परेको र छलफलका क्रममा पत्ता लागेको तथ्यका”आधारमा उनीहरूमाथि मुद्दा दर्ता गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

सो वेबसाइट प्रयोग गरेर लगभग एक लाख ४८ हजार अमेरिकी डलर बराबरको गाँजा बेचिएको अनुमान छ।

यो घटनाबाट एमजनलाई भारतभित्र व्यापार गर्न अर्को कानुनी समस्या बनेको छ। भारतमा एमजनमाथि प्रतिस्पर्धासम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ।

एमजन र अर्को अमेरिकी कम्पनी वाल्मार्टद्वारा सञ्चालित फ्लिपकार्टले केही व्यापारीहरूलाई विशेष व्यवहार गरेको आरोपबारे छानबिन भइरहेको छ।

एमजनले सेप्टेम्बरमा एक वा बढी कर्मचारीले भारतीय सरकारी अधिकारीहरूलाई घुस दिएको दाबीबारे आन्तरिक छानबिन सुरु गरेको थियो।

हालैका वर्षहरूमा भारतीय प्रहरीले लागुऔषध तस्करी र प्रयोगविरुद्ध आफ्नो कारबाहीलाई तीव्र बनाएको छ।

गत वर्ष धेरै चर्चित भारतीय कलाकार र टेलिभिजन प्रस्तोताहरू लागुऔषधसम्बन्धी अनुसन्धानको दायरामा परेका थिए।

गत महिना चर्चित कलाकार शाहरुख खानका २३ वर्षीय छोरा आर्यन खानलाई एउटा समारोहमा लागुऔषध प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो। खानले सो कुरा अस्वीकार गरेका छन्। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट