एमालेमा भटाभट उम्मेद्वारी घोषणा, वरिष्ठ उपाध्यक्ष दाबी गर्दै नेम्वाङ-Sutra News

एमालेमा भटाभट उम्मेद्वारी घोषणा, वरिष्ठ उपाध्यक्ष दाबी गर्दै नेम्वाङ

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्षका लागि उम्मेद्वारी दिने तयारी गरेका छन् । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा उनले वरिष्ठ उपाध्यक्षका लागि उम्मेद्वारी दिने बताए ।



‘म सर्वसम्मत ढंगबाट वरिष्ठ उपाध्यक्ष चयन हुनुपर्छ भन्दै मलाई नेता तथा कार्यकर्ताले सल्लाह दिइरहनुभएको छ,’ नेम्वाङले भने, ‘सर्वसम्मत ढंगबाट नेतृत्व चयन हुन सकेन भने साथीहरूसँग सल्लाह गरेर उम्मेद्वारी घोषणा गर्छु ।’

गत असोजमा सम्पन्न एमालेको विधान महाधिवेशनले पार्टीमा एकजना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था गरेको थियो । एमालेमा वरिष्ठ उपाध्यक्ष बन्ने लाइनमा करीब आधा दर्जन नेताहरू छन् ।

पूर्व माओवादी खेमाका रामबहादुर थापा बादल पनि वरिष्ठ उपाध्यक्षका लागि लबिङ गरिरहेका छन् । यस अघि २ पटक पार्टीको महासचिव भइसकेका ईश्वर पोखरेल पनि वरिष्ठ उपाध्यक्ष बन्ने लाइनमा छन् । त्यस्तै भीम रावलले अध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरिसकेको भए पनि उनी वरिष्ठ उपाध्यक्षकै बार्गेनिङमा रहेको नेताहरू बताउने गरेका छन् ।

यसअघि उपाध्यक्ष रहेका ५ मध्ये विद्यादेवी भण्डारी राष्ट्रपति छन् भने वामदेव गौतम पार्टीमा छैनन् । भीम रावलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरिसकेका छन् । अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली पनि वरिष्ठ उपाध्यक्ष बन्ने लाइनमा देखिएका छन् ।

महाधिवेशन आउन केही दिन मात्र बाँकी रहँदासम्म अध्यक्ष केपी शर्मा ओलीले मुख खोलेका छैनन् । सर्वसम्मत अध्यक्ष बन्ने उनको प्रयासलाई रावलले चुनौती दिइसकेका छन् ।

एमालेले सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा सहमतिको प्रयास भइरहेको भए पनि नेताहरूले भटाभट उम्मेद्वारी दिन थालेका छन् । सुरेन्द्र पाण्डेले महासचिवमा उम्मेद्वारी घोषणा गरेका छन् भने पृथ्वीसुब्बा गुरुङ पनि महासचिवकै दौडमा देखिन्छन् ।

त्यस्तै नेकपाकालमा महासचिव रहेका विष्णु पौडेलले अब महासचिव बन्ने सपना देख्न थालेका छन् भने लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल पनि महासचिव बन्ने दौडमा देखिन्छन् ।

ओलीले मुख नखोल्नु आफ्नै लागि प्रत्युत्पादक हुने देखिएको छ । नेताहरूले भटाभट उम्मेद्वारी घोषणा गर्न थालेपछि ओलीले सहमतिको प्रयास गर्न दबाब दिइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट