एमाले महाधिवेशन : चीनले पठाएन प्रतिनिधि, अमेरिका र उत्तर कोरियाबाट सन्देश पनि आएन-Sutra News

एमाले महाधिवेशन : चीनले पठाएन प्रतिनिधि, अमेरिका र उत्तर कोरियाबाट सन्देश पनि आएन

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

चितवनमा आजदेखि शुरु भएको नेकपा एमालेको दशौँ महाधिवेशनको उद्घाटन समारोहमा विदेशी पाहुनाका रूपमा भारतीयलगायत अन्य आधा दर्जन देशका प्रतिनिधि मात्र उपस्थित हुने भएका छन् ।



पार्टी कार्यालयबाट प्राप्त जानकारीअनुसार यो समाचार टिप्पणी तयार गर्दासम्म चीनबाट शुभकामना सन्देश आएको छ भने निम्ति पठाइएका अन्य कतिपय देशमध्ये अमेरिका र उत्तर कोरियाबाट सन्देशसमेत आएको छैन ।

भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका प्रतिनिधि कोही बिहीवार नै चितवन आइसकेका छन् भने कोही आउने क्रममा रहेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले दर्जन भन्दा बढी देशका प्रतिनिधिहरू आफ्नो दलको महाधिवेशनमा आउने दाबी गरेका थिए ।

एमालेको महाधिवेशनमा चीनले आफ्ना प्रतिनिधि नपठाउनुलाई महत्त्वपूर्ण ढंगले हेरिएको छ । कोरोना भाइरसका कारण आफूहरू उपस्थित हुन नसक्ने जानकारी चीनले दिएको छ ।

भारतबाट भने सरकार, प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस र भारतीय कम्युनिस्ट पार्टीका प्रतिनिधीसमेत आउनेछन् ।

एमालेले उत्तर कोरियालाई पनि सहभागी हुन निम्तो पठाएको थियो । तर उद्घाटन सत्र शुरू हुने बेलासम्म पनि कोरियाबाट कोही प्रतिनिधि आएको छैन । कोरियाबाट शुभकामना सन्देशसमेत आएको छैन ।

त्यस्तै अमेरिकी प्रतिनिधिहरू पनि एमालेको महाधिवेशनमा उपस्थित हुने छैनन् । अमेरिकाबाट शुभकामना सन्देशसमेत अहिलेसम्म नआएको नेताहरू बताउँछन् ।

एमालेले नेकपा एकीकृत समाजवादी दललाई निम्तो गरेको छैन । ‘अवैध गर्भाधानबाट जन्मिएको पार्टी’ भन्दै एमालेले नेकपा एसलाई नबोलाएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा उद्घाटन सत्रमा जाने कार्यक्रम रहेको छ भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि उपस्थित हुने छैनन् ।

उनी पूर्व निर्धारित कार्यक्रमका लागि भन्दै काभ्रे जाने कार्यक्रम रहेको छ । अन्य दलका नेता भने महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित हुनेछन् ।

महाधिवेशनमा आयोजक समितिसहित २ हजार ३ सय प्रतिनिधि उपस्थित हुनेछन् । उद्घाटन समारोह साढे १२ बजे शुरू हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट