केपी ओलीबाट देशले साहसिक निर्णयको अपेक्षा गरेको छ – कमल थापा-Sutra News

केपी ओलीबाट देशले साहसिक निर्णयको अपेक्षा गरेको छ – कमल थापा

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी शर्मा ओलीले नेतृत्व गरेको एमालेबाट देशले साहसिक निर्णयको अपेक्षा गरेको बताएका छन् ।



चितवनमा आयोजित दशौँ महाधिवेशनको उद्घाटनमा सम्बोधन गर्दै थापाले ओलीले राष्ट्रिय स्वाभिमान जोगाउन महत्त्वपूर्ण कदम चालेकाले देशमा देखिएको संकटबाट पार लगाउन महत्त्वपूर्ण निर्णयको अपेक्षा गरेको बताए ।

सम्बोधनका क्रममा थापाले व्यक्त गरेको विचार उनकै शब्दमा –

२०६३ सालको राजनीतिक परिवर्तनपश्चात दिगो शान्ति र स्थायी समृद्धिको लक्ष्य बोकेर हामीले राजनीतिक यात्रा प्रारम्भ गर्यौं । हामी कहाँ जान हिँडेका थियौं, कहाँ आयौं यसलाई गम्भीर समीक्षा गर्नुपर्छ ।

लोकतन्त्रको आवरणमा बिस्तारै देश सर्वसत्तावादतर्फ उन्मुख हुन लागेको पाइन्छ । योजनाबद्ध र संगठित रूपमा गरिदै आएको धर्मपरिवर्तनले हाम्रो सनातन धार्मिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको छ ।

अहिले सर्वाधिक भ्रष्टाचार व्याप्त भएको छ । ४० लाख भन्दा बढी नेपाली युवाहरू मलेसिया र अरबमा रगत पसिना बगाउन बाध्य भएका छन् ।

नेपालमा अहिले बाह्य शक्तिहरूको चलखेल र प्रभाव तीव्र रूपले बढेर गएको छ । नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्न सक्ने खतरा देखिएको छ । देशले तपाईंहरूबाट साहसिक निर्णयको अपेक्षा गरेको छ ।

ओली जस्तो एउटा दृढ अडान र राष्ट्रवादी सोच भएको नेताले नेतृत्व गरेको पार्टीले यो देशलाई संकटबाट मुक्त तुल्याउनका निम्ति ऐतिहासिक योगदान पुर्याउन सक्नेछ । अध्यक्ष केपी ओलीसँग एउटा सरकारमा रहेर मैले पनि केही समय काम गर्ने अवसर पाएको थिएँ । जतिबेला ओलीको नेतृत्वमा हामी सरकारमा सहभागी भयौं, देशमा आन्दोलनको आगो बलिरहेको थियो ।

भारतीय नाकाबन्दीले कष्ट भोग्नुपरेको थियो । ओलीको सुझबुझ र मार्गदर्शनमा रहेर हामीले राष्ट्रिय स्वाभिमानमा एक इन्च पनि आँच आउन नदिन सफल भयौं । उहाँकै नेतृत्व र मार्गदर्शन अन्तर्गत रहेर हामीले व्यापार पारवाहन लगायत रेल तेल र बिजुलीको दीर्घकालीन नयाँ खाका कोर्न सक्षम भयौं । अन्तर्राष्ट्रिय मंचमा नेपालको इज्जत जोगाउन सफल भयौं ।

पछिल्लो सरकारसंग म त्यति धेरै सन्तुष्ट छैन । पार्टीभित्रको असन्तुष्टिका कारण जनताले आश गरेको काम हुन सकेन । धेरै विवादका बाबजुद दुई वटा कामका निम्ति ओली र एमालेलाई देशले सम्झिनेछ ।

पहिलो काम मधेशमा देखा परेको पृथकतावादी आन्दोलन र विप्लवलाई राजनीतिक मूलधारमा ल्याउने काम पूरा भएको छ । ओलीकै नेतृत्वमा लिम्पियाधुरा समेत समेटेर नेपालले आफ्नो सीमाको रक्षाका निम्ति प्रतिबद्धता व्यक्त गरेको छ । चुचे नक्सा बनाएर त्यसलाई संविधानमा सस्थागत गरेर नेपाल र नेपालीलाई गुण लगाउनुभएको छ ।

यही कारणले मैले साहसिक निर्णयको अपेक्षा गरेको छु । देशलाई संकटबाट बचाउन साहसिक निर्णय गर्नुहोस, शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट