राखी अर्थात् रक्षाबन्धनको उपलक्ष्यमा भारतमा उपहार दिने चलन व्याप्त छ । तर गत राखीका दिन एक भारतीय युवा उमंगले गज्जबको उपहार पाए । उनले आफ्नो सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरे, जसमा बलिउडका प्रख्यात अभिनेता हृतिक रोशनले उनलाई उनको बहिनीको तर्फबाट राखीको उपलक्ष्यमा शुभकामना दिएका थिए ।
हृतिक रोशनले भनेका थिए, ‘हेल्लो उमंग, तपाईंको बहिनीको तर्फबाट तपाईलाई राखीको धेरै शुभकामना ।’ हृतिक रोशनबाट शुभकामना पाउने उमंग एक्ला थिएनन् । के साँच्चै हृतिकले हजारौंलाई त्यसरी शुभकामना दिन भ्याए त ?
चकलेट कम्पनी क्याडवेरीको एप्लिकेसनमा गएर आफ्नो नाम र दिदी या बहिनीको नाम टाइप गर्नेबित्तिकै हृतिक रोशनको शुभकामनावाला भिडियो प्राप्त गर्न सकिन्थ्यो । जसलाई व्हाट्सएप या अन्य माध्यमबाट सेयर गर्न सकिन्थ्यो । यो पूरा प्रक्रियामा दश मिनेटको मात्र समय लाग्दथ्यो ।
रक्षाबन्धन मात्र होइन, क्याडबेरीले यसलाई दिवालीका लागि पनि प्रयोग गर्यो । जहाँ बलिउडका अर्का प्रख्यात अभिनेता शाहरूख खान देखिन्थ्ये । यसमा अलि फरक थियो । शाहरुखले व्यक्तिगत रूपमा कैयौं स्थानीय पसल (ठूला र ब्रान्डेड होइन) लिए, मानिसहरूलाई शुभकामना दिने क्रममा उनले भने, ‘यो दिवालीमा तपाईंहरूले आफ्नो नजिकैको ‘फलानो’ पसलबाट सामान किन्नुहोला ।’
भिडियो –
तपाईं सोच्नु होला यदि शाहरुखले तपाईलाई शुभकामना दिएका छन् भने उनलाई तपाईंको घरनजिकै रहेको ‘लक्ष्मी फेन्सी पसल’ (उदाहरण मात्र)को नाम कसरी थाहा भयो ? शाहरुखले लक्ष्मी फेन्सी पसल मात्र होइन, ज-जसलाई शुभकामना दिए, उनीहरूको नजिकै रहेका हजारौं लोकल व्यवसायको नाम लिए । यस्तो कसरी सम्भव छ ?
वास्तवमा यसको प्रायोजन क्याडबेरीले गरेको थियो । यसो गर्दा कोभिडका कारण धरासायी भएका कैयौं लोकल व्यवसायहरू माथि आउन सक्छन् भन्ने क्याडबेरीको तर्क छ । सबै व्यवसाय र पसलहरूले शाहरुख खान जस्ता महंगा सेलीब्रेटीलाई आफ्नो ब्राण्डको प्रचार गराउन सक्दैनन् । त्यसैले एउटा प्रविधिमार्फत यसलाई सहज गराइयो । उनीहरूले मेसिन लर्निङ टेक्नोलोजी प्रयोग गरे, जसमा शाहरुख खानको अनुहार र आवाज जस्ताको त्यस्तै आउने बनाए ।
यही प्रविधिलाई प्रयोग गरेर आफ्ना भ्युअरहरूको लोकेसन पत्ता लगाइयो र स्थानीय व्यापारहरूको नाम तयार पारियो । त्यसपछि हजारौं यस्ता प्रचार सामग्री तयार गरियो । त्यसपछि ती प्रचार सामग्रीहरू त्यस्ता भ्युअरहरूलाई देखाइयो जो ती व्यापारिक स्थान नजिकै थिए । उक्त प्रविधिलाई भनिन्छ ‘डीप फेक’ ।
यो डीप फेक प्रविधि मार्केटिङ मात्र नभएर राजनीतिक अभियानमा पनि प्रयोग गरिन्छ । भारतीय जनता पार्टीले सन् २०२० को दिल्ली चुनावमा यही प्रविधि प्रयोग गरेको थियो । एउटै नेताले फरक फरक भाषामा आफ्ना मतदातालाई कन्भिन्स गरिरहेका थिए ।
डीप फेक कसरी बनाइन्छ ?
यो प्रविधि सबैभन्दा बढी पपुलर सन् २०१७ मा भएको थियो । एउटा रेडइट प्रयोगकर्ताले विश्वभरका प्रख्यात महिला सेलीब्रेटीहरूको ‘पोर्न क्लिप’ बनाएका थिए । यो प्रविधिले बोल्ने क्रममा मान्छेको अनुहारको हाउभाउ बदल्न कृत्रिम बौद्धिकता प्रयोग गर्छ । जसलाई डीप लर्निङ टेक्नोलोजी पनि भनिन्छ ।
यो सफ्टवेयरलाई जसको भिडियो बनाउनु छ, उसका पहिल्यै उपलब्ध रहेका धेरै भिडियोहरू दिइन्छ । त्यसपछि सफ्टवेयरले उक्त व्यक्तिले बोलेका सबै डाटा र अनुहारको हाउभाउ अध्ययन गर्छ । त्यसपछि उक्त व्यक्तिले जे बोल्नुपर्ने हो, त्यसको टेक्स्ट सफ्टवेयरमा राखिन्छ । सफ्टवेयरले उसैले बोलेको जस्तो भिडियो आफैं बनाएर दिन्छ ।
यसको असर कहाँ पर्छ ?
यसले पार्ने असरलाई दुई भागमा बाँडेर हेरौं । पहिलो राजनीतिक र दोस्रो प्रोनोग्राफी । यदि राजनीतिको कुरा गर्ने हो भने यो सन् २०१८ मा पपुलर भएको थियो । एउटा हास्यकलाकारले यही प्रविधि प्रयोग गरेर अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको नक्कल गरेका थिए ।
हेर्नुहोस् भिडियो –
अर्को घटना भएको थियो सन् २०१९ मा । अफ्रिकाको गाबोन देशका राष्ट्रपतिको नक्कली भिडियो बाहिर ल्याइएको थियो । उक्त भिडियो यति साँच्चिकै जस्तो देखिने थियो कि त्यहाँको सेनाले धन्नै ‘कू’समेत गरेन । सन् २०२० मा भारतको दिल्लीमा भएको निर्वाचनमा बीजेपी दिल्लीका अध्यक्ष मनोज तिवारीको यस्तै भिडियो बनाइएको थियो । एउटा भिडियोमा उनी अंग्रेजी बोलिरहेका थिए भने दोस्रो भिडियोमा हरियाणवी बोलिरहेका थिए ।
बीजेपी दिल्लीका सामाजिक संजाल र सूचना प्रविधिका उप-प्रमुख निलकन्ठ बकशीले एउटा अन्तर्वार्तामा भनेका छन् कि डीप फेक प्रविधिले आफ्नो मार्केटिङ क्याम्पियनलाई अझ बढाउन सकिन्छ । कुनै पनि राजनीतिक उम्मेदवारले आफूले जान्दै नजानेको भाषामा भाषण दिन सक्छ ।
दिल्ली चुनावमा यो प्रयोगका पछाडि सागर विश्नोइ नामका व्यक्ति थिए । उनले भनेका छन् – ‘हामीले डीपफेक अल्गोरिदमलाई लिप्स-सिङकिङ गर्ने हिसाबले तालिम दियौं । मनोज तिवारीले पहिल्यै गर्ने गरेका भाषणहरूलाई तथ्यांक बनाएर सफ्टवेयरमा राख्यौं । उक्त सफ्टवेयरले के बोल्नुपर्ने र बोल्दा मुखको हाउभाउ कस्तो हुन्छ भन्ने आफैं निर्क्योल गर्यो ।’
बक्शीले भने, ‘यी भिडियोहरूलाई करीब ६ हजार व्हाट्सएप ग्रुपमा पठाइयो र करीब डेढ करोड मान्छेहरूले यसलाई हेरे ।’ तिवारीका भिडियोहरू देखेर मतदाता सजिलै प्रभावित पनि भएको उनको दाबी थियो ।
‘कैयौं नागरिकहरू आफ्नो नेताले आफ्नै भाषामा बोलेको देखेर धेरै खुसी भएका थिए । हरियाणवी भिडियो निकै भाइरल भयो, त्यसैले बीजेपीले अर्को भिडियो पनि बनाउने निर्णय लियो । जसमा अंग्रेजी बोल्नेहरूलाई टार्गेट गरियो,’ बक्शीले भने ।
डीप फेक भिडियोका कारण के फेक समाचार फैलिन सक्दैन ? अवश्य सक्छ । नेपाल, भारत जस्ता डिजिटल साक्षरता कम भएका देशमा यसका कारण फेक समाचार भाइरल हुने सम्भावना अत्याधिक हुन्छ । यसो हेर्दैमा झुटो प्रमाणित हुने कतिपय भिडियोकै कारण भारतमा धेरै हत्या र हिंसा भइरहेको तथ्यांक छ । अर्को पक्ष हेर्ने हो भने पछिल्लो डेढ वर्षमा पोर्नोग्राफीमा प्रयोग हुने फेक भिडियोको संख्यामा ९६ प्रतिशतले बढोत्तरी भएको छ ।
डीप फेकका बारेमा रिसर्च गरिरहेका जिओर्जीओ पटरिनी जो ‘सेन्सिटी’ कम्पनीका संस्थापक पनि हुन्, उनले भनेका छन्, ‘यस्ता डीप फेक भिडियोहरू अपलोड गर्ने वेबसाइटहरूले पैसा कमाइरहेका छन् । त्यसैले उनीहरूले यसलाई रोक्नुको साट्टो झन् बढावा दिइरहेका हुन्छन् ।’
अफ्रिकी देश गाबोनमा भएको कू प्रयासको भिडियो हेर्नुहोस् –
फाइदा के छ ?
डिजिटल साक्षरता कमजोर भएका देशहरूमा यस्ता भिडियोहरूले सजिलै गलत सन्देश पुर्याउने भएता पनि केही क्षेत्रमा यसको फाइदा पनि छ । जस्तै फिल्म क्षेत्रमा यसको सदुपयोग गर्न सकिन्छ । डिजिटल आवाज सिर्जना गर्ने र फिल्मको फूटेजलाई पुनः शुट नगरिकन त्यसलाई अपडेट गर्न सकिन्छ ।
यदि तपाईंहरूले अर्कै भाषामा डबिङ गरेका फिल्महरू हेर्नुभएको छ भने पक्कै केही कमजोरी पाउनुहुन्छ । डीप फेक प्रविधिले कलाकारकै आवाजलाई डिजिटल बनाउन सक्छ । यो प्रविधिलाई सामाजिक र स्वास्थ्यको क्षेत्रमासमेत प्रयोग गर्न सकिन्छ ।
यदि तपाईंको साथी या परिवारको सदस्यमध्ये कसैको मृत्यु भइसकेको छ भने यही प्रविधिलाई प्रयोग गरेर डिजिटल माध्यमबाट मृतकसँग अहिले पनि कुरा गर्न सकिन्छ । अगाडि नै हामीले पढिसक्यौं, यसले मार्केटिङ क्याम्पियनमा पनि राम्रो भूमिका खेल्न सक्छ ।
-भारतीय रिसर्चर तथा युट्युबर मोहक मंगलको सहयोगमा