रावललाई मनाउन नसकेपछि निर्विरोध अध्यक्ष हुने ओलीको चाहनामाथि ‘संकट’-Sutra News

रावललाई मनाउन नसकेपछि निर्विरोध अध्यक्ष हुने ओलीको चाहनामाथि ‘संकट’

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन् ।



पार्टीको चालू महाधिवेशनमा सर्वसम्मत ढंगले पदाधिकारी चयन गर्ने प्रयास जारी राखिएको भएपनि रावलले आफूले अध्यक्षको दाबेदारी नछोडेको बताएका हुन् ।

सौराहामा आज बिहानदेखि शुरू हुने भनिएको बन्द सत्र रावललगायतका नेताहरू सहमतिमा आउन नचाहेपछि ढिलो गरेर शुरू हुँदैछ ।

बन्द सत्रमा छिर्ने क्रममा रावलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्षमा उम्मेदवारी दिने आफ्नो अडान नफेरिएको बताएका हुन् ।

‘विधि र पद्धतिमा अघि बढ्नुपर्छ,’ रावलले भने, ‘म अध्यक्षको उम्मेदवार हो, अहिलेसम्म फिर्ता लिएको छैन ।’

उनले हिजो राति थप गरिएको पदाधिकारी र केन्द्रीय समितिको संख्या पार्टीभित्र छलफल नभईकन गरिएकोसमेत आरोप लगाए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षका आकांक्षी सुवासचन्द्र नेम्वाङले पनि आफ्नो उम्मेदवारी फिर्ता लिने कुनै छाँटकाँट देखाएका छैनन् ।

सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने प्रक्रिया नेताहरूको अडानका कारण निर्वाचनसम्म पुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट