जाजरकोटमा आज बिहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जदेखि जाजरकोटको हुँदै रुकुम राडिबजार गइरहेको ना६ख २७५७ नम्बरको बस राति साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ कुदुमा दुर्घटना हुँदा ५ जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेहरुमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीया गंगाराम यादवको मृत्यु भएको हो ।
जाजरकोट प्रहरीले घाइतेहरुको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको जनाएको छ भने भम्भिर घाइतेलाई नेपालगंज पठाउने तयारी भइरहेको छ ।
दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको र दुर्घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी मधुकुमार थापाले जानकारी दिए ।