नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरिएको भीम रावलको पर्चा बाँड्न रोक लगाइएको छ । रावल पक्षका कार्यकर्ताहरुले पर्चा बाँड्न थालेपछि एमालेका स्वयमसेवकहरुले रोक लगाएका हुन् । उनिहरुलाई पर्चा नबाँड्न चेतावनी दिंदै गेट बाहिर निकालिएको छ ।
केही प्रतिनिधिहरूको हातमा भीम रावलको उम्मेदवारी किन भन्ने पर्चा परेपछि खैलाबैला भएको थियो भने स्वयमसेवकहरुले पर्चा नबाँड्न भन्दै रोकेका थिए ।
प्रतिनिधिहरुलाई पर्चा बाँड्दै बन्दसत्रको हलको मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर निकालेका हुन् । बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए ।
पर्चा वितरण गर्न रोक लगाएपछि स्वयमसेवकहरु र रावल पक्षका कार्यकर्ताबीच केहिवेर भनाभन समेत भएको थियो । यस विषयमा रावलको प्रतिक्रिया आइसकेको छैन ।
‘मेरो उम्मेदवारी किन’ लेखिएको भीम रावलको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्नाका कारणबारे उल्लेख छन् । आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी गरेपनि रावलले अध्यक्षमा आफ्नो उम्मेदवारी कायमै रहने बताएका छन् ।