ओलीबाहेक मेरो अर्को सिनियर छैन, मलाई वरिष्ठ उपाध्यक्ष चाहिन्छ – नेम्वाङ-Sutra News

ओलीबाहेक मेरो अर्को सिनियर छैन, मलाई वरिष्ठ उपाध्यक्ष चाहिन्छ – नेम्वाङ

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष छनोटमा ओली संकटमा परेका छन् । महासचिव ईश्वर पोखरेल र नेता सुवासचन्द्र नेम्वाङ दुवैले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । दुवै ओलीका खास नेताहरू हुन् ।



ओली भने नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएर पोखरेललाई महासचिव बनाउने ताकमा थिए । तर नेम्वाङले ओलीबाहेक अरूलाई नेता नै नमान्ने सन्देश ओलीसमक्ष पुर्याएका छन् ।

नेम्वाङको सन्देश लिएर प्रदेश १ का पूर्व मुख्यमन्त्रीसमेत रहेका शेरधन राईले ओलीलाई भेटेका थिए । स्रोतको दाबीअनुसार राईले नेम्वाङ वरिष्ठ उपाध्यक्ष भन्दा तल रहन तयार नभएको सन्देश ओलीलाई दिएका हुन् ।

राईमार्फत पठाएको सन्देशमा नेम्वाङले ओली भन्दा अरूलाई नेता नमान्ने तर्क गरेका हुन् ।

‘मेरो नेता केपी ओली हो, पार्टीमा म भन्दा अरू सिनियर छैन । त्यसैले वरिष्ठ उपाध्यक्षमा मेरो दाबी स्वाभाविक छ,’ नेम्वाङले ओलीलाई भनेका छन् ।

सर्वसम्मतिले नेतृत्व छान्ने भनिएपनि आकांक्षी धेरै भएपछि ओली तनावमा देखिएका छन् । भीम रावलले अध्यक्षको उम्मेदवारी फिर्ता गर्न मानिरहेका छैनन् भने महासचिवमा पनि नेताहरू विभाजित भएका छन् ।

ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल ल्याउन चाहेका थिए । विष्णु पौडेलले शंकर पोखरेललाई ‘चेक’ गरिरहेका छन् ।

त्यस्तै पूर्व माओवादीलाई दुई पदाधिकारी र ४० केन्द्रीय कमिटी सदस्य दिन ओली तयार भएका समाचारहरू बाहिरिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट