राप्रपा अध्यक्ष थापाको पुनः अध्यक्षमा उम्मेदवारी घोषणा, लिङदेनलाई ४ बर्ष कुर्न आग्रह-Sutra News

राप्रपा अध्यक्ष थापाको पुनः अध्यक्षमा उम्मेदवारी घोषणा, लिङदेनलाई ४ बर्ष कुर्न आग्रह

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुनः अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रमका बीच थापाले आगामी कार्यकालको लागि पार्टी नेतृत्वकामा रहन अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।



थापाले मङ्सिर १५ गते काठमाडौंमा हुने राप्रपाको महाधिवेशन एकताको महाधिवेशन भएकाले राप्रपा बलियो शक्तिको रुपमा स्थापित गर्न आफुले उम्मेदवारी घोषणा गरेको बताए ।

इतिहासमा पार्टीहरु एकीकृत हुने तर महाधिवेशनपछि फुट्ने गरेको भन्दै थापाले टुटफुटको शृङ्खला हुन नदिन र पार्टीलाई एकताबद्ध बनाइ राख्ने संकल्प गर्न अपिलसमेत गरे । उनले भने– ‘महाधिवेशनबाट फर्केर घर जाँदा राप्रपालाई कहिले फुट्न नदिने संकल्प गरौं । पार्टीले अंगिकार गरेको हिन्दुराष्ट्र, राजा सहितको प्रजातन्त्र लगायतका एजेण्डा स्थापित गर्न राप्रपालाई बलियो शक्तिको रुपमा स्थापित गरौं ।’

थापाले फेरि एकचोटी एकीकृत पार्टीको नेतृत्व लिएर पार्टीलाई जुरुक्क उठाउनुपर्ने दायीत्व आएको भन्दै त्यस्का लागि सबैको सद्भाव, सहयोग र समर्थन अपरिहार्य भएको उल्लेख गरे ।

थापाले आर्यघाटमा पुग्ने बेलासम्म पनि नेतृत्व गर्ने चाहना आफूमा नरहेको भन्दै पार्टीलाई थप बलियो बनाएर नेतृत्व हस्तान्तरण गर्ने बताए । उनले घुमाउरो भाषामा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङदेनलाई धैर्य गर्न र ४ बर्ष कुर्न आग्रह गरे । अहिले आफू र लिङदेनबीच ल्याउन षडयन्त्र भैरहेकोले सजग हुनुपर्ने थापाले उल्लेख गरे ।

थापाको उम्मेदवारी घोषणा कार्यक्रममा पार्टीका पुराना नेता फत्तेसिंह थारु, दीपक बोहरा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यहि मंसिर १५ गतेदेखि राप्रपाको महाधिवेशन काठमाडौंमा हुँदैछ भने भावी अध्यक्ष पदका लागि थापालाई सहयोग र समर्थन गर्दै आइरहेका संघीय सांसद राजेन्द्र लिङदेनले यस अघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट