पुनर्बीमा निर्देशन फिर्ता नहुने समितिको धारणा, भ्रम सिर्जना गरिएकोप्रति ध्यानाकर्षण-Sutra News

पुनर्बीमा निर्देशन फिर्ता नहुने समितिको धारणा, भ्रम सिर्जना गरिएकोप्रति ध्यानाकर्षण

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

बीमा समितिले केहि दिन अघि जारी गरेको पुनर्बीमा निर्देशनको बचाउ गर्दै अर्को ध्यानाकर्षण जारी गरेको छ । समितिले सोमबार एक ध्यानाकर्षण पत्र जारी गर्दै पुनर्बीमा निर्देशन फिर्ता नहुने जनाएको छ ।



समितिले पुनर्बीमा निर्देशन जारी गरेपश्चात निर्जीवन बीमा क्षेत्रमा तरङ्ग पैदा भएको छ भने बीमक संघले निरन्तर विरोध गर्दै आएको छ । बीमा क्षेत्रमा मात्रै नभएर व्यवसायीक क्षेत्रले पनि समितिको निर्देशनको विरोध गरिरहेका छन् ।

पुनर्बीमा निर्देशनको जताततै चर्को आलोचना र विरोधहरु विभिन्न सञ्चार माध्यममा आउन थालेपछि समितिले निर्देशनसम्बन्धि थप प्रस्ट्याउँदै ध्यानाकर्षण पत्र सार्वजनिक गरेको हो ।

विरोधका समाचारहरुको खण्डन गर्दै समितिले भनेको छ– ‘छिमेकी मुलुक भारत, बङ्गलादेश लगायतका विभिन्न देशमा समेत मुलुकको हित, बीमितको बीमा रकमको सुरक्षा र बीमाक्षेत्रको समग्र विकासका लागि ती देशका बीमा नियामक निकायहरुले प्रचलित ऐन नियम बमोजिम समयानुकूल व्यवस्था गर्ने गरेका हुन्छन् । नेपालमा पनि नेपालको बीमा नियमनकारी निकाय ‘बीमा समिति’ ले अन्तर्राष्ट्रिय प्रचलन, मुलुकको हित, बीमितको बीमा रकमको सुरक्षा र बीमा व्यवसायको विकास एवम् प्रवर्धनलाई समेत ध्यानमा राखी गरेको हो ।’

ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘समितिको निर्देशनलाई एकतर्फीरुपमा आफूखुशी मनगढन्तेरुपले व्याख्या गरी जनमानस र सिङ्गो बीमाक्षेत्रलाई नै दिग्भ्रमित पार्ने गरी व्यक्त भएका त्यस्ता धारणा र यथार्थहीन भ्रमपूर्ण जानकारीप्रति समिति खेद प्रकट गर्दछ ।’

ध्यानाकर्षण पत्रको पुरा पाठ हेर्नुहोस्ः

बीमा समितिले पुनर्बीमाका सम्बन्धमा हालै बीमा कम्पनीहरुलाई दिएको निर्देशनलाई लिएर विभिन्न संचार माध्यम र संचार माध्यममार्फत बीमक सङ्घका केही पदाधिकारीहरुबाट आएका धारणाप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ । समितिको निर्देशनलाई एकतर्फीरुपमा आफूखुशी मनगढन्तेरुपले व्याख्या गरी जनमानस र सिङ्गो बीमाक्षेत्रलाई नै दिग्भ्रमित पार्ने गरी व्यक्त भएका त्यस्ता धारणा र यथार्थहीन भ्रमपूर्ण जानकारीप्रति समिति खेद प्रकट गर्दछ ।

देशमा हाल पुनर्बीमा व्यवसायको एकाधिकार अन्त्य भई दुईवटा पुनर्बीमा कम्पनी संचालनमा रहेका कारण प्रतिस्पर्धीरुपमा पुनर्बीमा व्यवसाय गर्न सकिने अवस्था सिर्जना भएको र हाल मुलुकमा बैदेशिक मुद्राको संचिति घट्दै गएको तर पुनर्बीमा वापत ठूलो रकम विदेशिने गरेकाले बैदेशिक मुदा संचितिमा समेत योगदान पु¥याउनु पर्ने भएकाले यस्तो व्यवस्था गरिएको जानकारी गराउन चाहन्छौं ।

बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ मा भएका व्यवस्था बमोजिम यस समितिले बीमकले आफूले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष हिस्साका सम्बन्धमा हालको व्यवस्था कायम राखी प्रत्यक्ष हिस्सास्वरुप प्रदान गरिएको पुनर्बीमा बाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमकहरुलाई प्रदान गर्ने व्यवस्था गरेको छ । साथै, कुनै स्वदेशी पुनर्बीमकले न्यून आर्थिक क्षमताका कारण पुनर्बीमा गर्न नसकेको खण्डमा त्यसरी नसकेको अङ्शको पुनर्बीमा ‘पुनर्बीमा निर्देशिका, २०७८’ मा भएको व्यवस्था बमोजिम योग्यता पुगेका विदेशी पुनर्बीमा कम्पनीसँग गर्न पाइने व्यवस्था समेत गरिएको सबैलाई विदितै छ । तसर्थ, स्वदेशी पुनर्बीमा कम्पनीहरुलाई उनीहरुको आर्थिक क्षमताले नधान्ने पुनर्बीमा व्यवसाय पनि जबरजस्ती उनीहरुलाई नै दिनुपर्ने भन्ने बाध्यात्मक व्यवस्था बीमा समितिको निर्देशनबाट सिर्जना भएको भन्ने विभिन्न संचार माध्यममार्फत व्यक्त धारणा कुत्सित मनसायका साथ आम जनमानसमा भ्रम सिर्जना गर्ने र बीमा एवम् पुनर्बीमा व्यवसायको विकासलाई अवरुद्ध गर्ने नियोजित उद्देश्यका साथ आएका हुन् ।

छिमेकी मुलुक भारत, बङ्गलादेश लगायतका विभिन्न देशमा समेत मुलुकको हित, बीमितको बीमा रकमको सुरक्षा र बीमाक्षेत्रको समग्र विकासका लागि ती देशका बीमा नियामक निकायहरुले प्रचलित ऐन नियम बमोजिम समयानुकूल व्यवस्था गर्ने गरेका हुन्छन् । नेपालमा पनि नेपालको बीमा नियमनकारी निकाय ‘बीमा समिति’ ले अन्तर्राष्ट्रिय प्रचलन, मुलुकको हित, बीमितको बीमा रकमको सुरक्षा र बीमा व्यवसायको विकास एवम् प्रवद्र्धनलाई समेत ध्यानमा राखी गरेको यस व्यवस्थालाई अन्यथा नलिई सहजरुपमा परिपालन गर्न गराउन सम्बन्धित सबैलाई बीमा समिति विनम्र अनुरोध गर्दछ ।

साथै, बीमा तथा पुनर्बीमाका सम्बन्धमा कुनै गुनासा एवम् समस्या भएमा यस समितिलाई सिधै जानकारी गराउन सम्बन्धित सबैसँग आग्रह गर्दछौं । बीमाक्षेत्रमा देखिएका समस्याहरु बीमक, बीमित लगायत सरोकारवाला सबैसँगको छलफलबाट समाधान गर्न सकिनेमा यस समिति दृढ रहेको व्यवहोरा समेत सम्बन्धित सबैमा अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट