लिङ्देनलाई लोहनीको समर्थन, थापा र राणालाई पनि सहयोग गर्न आग्रह-Sutra News

लिङ्देनलाई लोहनीको समर्थन, थापा र राणालाई पनि सहयोग गर्न आग्रह

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आगामी कार्यकालको लागि पार्टी नेतृत्वमा अध्यक्ष पदमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन् । लोहनीले आज काठमाडौंको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिङ्देनको उम्मेदवारीलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।



लोहनीले पत्रकार सम्मेलनमा नयाँ नेतृत्वलाई काम गर्ने मौका दिनुपर्ने धारणा राखेका छन् । उनले अर्का दुई अध्यक्ष कमल थापा र पशुपतिशम्शेर राणालाई पनि नयाँ नेतृत्वलाई समर्थन र सहयोग गर्न आग्रह गरेका छन् ।

लोहनीले राप्रपाको नेतृत्व सहमतिमा हुनपर्छ भनेर धेरै अघि भनेको स्मरण गर्दै त्यसो नभए नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आफ्नो मान्यता अनुसार लिङ्देनलाई समर्थन गरेको बताए ।

दुई अध्यक्षहरू थापा र राणाले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउँदै लोहनीले वैदिक सनातनको हिन्दु धर्म र संवैधानिक राजतन्त्रप्रतिका सबै प्रतिवद्धता कार्यान्वयन गर्न नयाँ नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे ।

राप्रपाको महाधिवेशन भोलि १५ गतेदखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान अध्यक्ष राणाले चुनाव नलड्ने घोषणा गरेका छन् । यद्यपी उनले कसलाई समर्थन गर्नेभन्ने विषयमा केहि नबोले पनि आजै पत्रकार सम्मेलन गरी आफ्नो आधिकारीक धारणा राख्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट