चितवनमा सम्पन्न नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिएका भीम रावलले जम्मा २ सय २३ मत ल्याएर पराजित भए । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये खसेको २ हजार ९६ मतमा रावलले प्राप्त गरेको मत जम्मा १० प्रतिशत मात्र हो । तर समग्र महाधिवेशनमा चर्चाको केन्द्रमा रावल नै रहे ।
पराजित भएपछि रावलले प्रतिक्रिया दिँदै आफू पराजित हुने कुरा आफूलाई पहिल्यै थाहा भएको बताए । अध्यक्ष ओलीको ‘डोमिनेसन’मा रहेको एमालेमा रावल अध्यक्षमा बिजयी हुन सक्दैनथे ।
रावल मात्र होइन, उपाध्यक्षमा ओलीले प्रस्तावित गरेको सूचीलाई चुनौती दिँदै मैदानमा भिडेका घनश्याम भुसाल र सचिवमा भिडेका भीम आचार्य र टंक कार्की दुवै क्लिन बोल्ट भएर पेभेलियन फर्किसकेका छन् ।
ओलीले केही दिनअघि पदाधिकारी र केन्द्रीय सदस्यको सूची प्रस्तावित गरेका थिए । पदाधिकारीमा ओलीले प्रस्ताव गरेकै नामावली प्रतिनिधिहरूले स्वीकार गरे भने केन्द्रीय कमिटीमा प्रस्ताव भन्दा बाहिरका केही अनुहारहरू आएका छन् ।
महाधिवेशनअघि रावलले अछाममा पुगेर आफू अध्यक्षमा लड्ने संकेत गरिसकेका थिए । उनलाई उपाध्यक्षमा समेटेर अघि लैजाने ओलीको प्रयास सफल भएन । अन्तिमसम्म आफू अध्यक्षमा लड्ने अडान रावलको रह्यो । उनले अध्यक्षमा पराजित भए केन्द्रीय कमिटीमा पनि नबस्ने घोषणा गरिसकेका थिए । अध्यक्षमा पराजित भएसँगै रावल अब उपाध्यक्षबाट एमालेको साधारण सदस्यमा झरेका छन् ।
रावलकै अडानका कारण आइतवार सकिनुपर्ने महाधिवेशन मंगलवारसम्म लम्बियो । ओलीको एकछत्र रहेको मानिएको एमालेभित्र रावलले ल्याएको २ सय २३ मतको महत्त्व बढेको छ ।
रावलले सम्मानपूर्वक हार बेहोर्दा ओलीको ओझ भने झन् खस्किएको छ । सर्वसम्मति गर्ने नाममा नवौं महाधिवेशनमा हारेकालाई बढुवा गरेर ओलीले नेतृत्व छान्दा विवेक नपुर्याएको बरू राम्रालाई भन्दा हाम्रालाई ठाउँ दिएको चर्चा चल्न थालेको छ ।
नवौं महाधिवेशनपछि माधवकुमार नेपाललाई दह्रो साथ दिएका ‘दश भाइ’मध्ये रावल, भुसाल र आचार्य ‘रिङ’ आउट भएका छन् । महाधिवेशनको मत परिणामले ओलीलाई ‘बा’ ठान्नेहरूको बोलबाला रहेको देखाएता पनि ओलीको एकलौटीविरुद्ध एक्लै मैदानमा भिडेका रावल एमालेको राजनीतिक इतिहासमा पछिसम्म स्मरणीय रहनेछन् ।
महाधिवेशन दलको नेतृत्व चयन गर्ने प्रक्रिया हो । आजसम्म निर्वाचनमार्फत नेतृत्व चयन गर्दै आएको एमालेमा ओलीकै हठका कारण ‘सर्वसम्मत’को सिरेटो चलेको थियो । देशैभरबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिले छान्नुपर्ने नेतृत्व ओलीले आफ्नो कोटको गोजीबाट निकाले ।
लोकतान्त्रिक प्रक्रियाको दुहाइ दिने ओलीले रातारात केन्द्रीय कमिटी बैठक बोलाएर नेतृत्व छान्ने अधिकार आफ्नो हातमा लिएका थिए । उम्मेदवारी फिर्ता लिन रावललाई ओलीले अन्तिमसम्म पनि दबाब दिइरहे । रावलले बन्द सत्रस्थलमा बाँडेको पर्चासमेत ओलीकै निर्देशनमा खोसिएको थियो ।
रावलनिकट स्रोतले भन्यो, ‘उम्मेदवारी फिर्ता लिन लोभ लालच, धम्की कति आए कति । तर उहाँले (रावलले) लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै लड्ने प्रयास गर्नुभयो । हारिन्छ भन्ने पहिल्यै थाहा थियो, तर उहाँकै कारण निर्वाचन भयो । अध्यक्षले चाहेकै पदाधिकारी आएपनि सबैले चुनाव फेस गर्ने अवसर त पाए नि !’
रावल अध्यक्षको उम्मेदवारी घोषणा गर्दादेखि नै सर्वाधिक चर्चाको घेरामा परे । महाधिवेशनस्थलमा रावल कहाँ छन्, के गर्दै छन्, अबको मुभ के हुन्छ भन्ने प्रश्नका साथ सञ्चारकर्मीहरूले उनलाई खोजीरहे । महाधिवेशनलाई लाइभ कभरेज गरिरहेका कतिपय मिडियाले सर्वाधिक उनकै समाचार बनाए र बजाए ।
भोट माग्ने क्रममा ‘हार्नुभयो भने पनि एमाले छोड्न पाउनुहुन्न है’ भनेर प्रतिनिधिहरूले उनलाई भनेको कुराले ठूलो राजनीतिक अर्थ राख्छ । ओलीको उर्दीका कारण या ओली दाहिना रहँदैनन् भन्ने भयका कारण रावललाई मत नहाल्नेको संख्या ठूलो छ ।
मतदान शुरू हुनै लाग्दा ओली पक्षले पर्चा नै निकालेर रावल लगायतका बागी उम्मेदवारहरूलाई हराउन आग्रह गरेको थियो । यो निर्वाचन आचारसंहिता विरुद्ध थियो । बिजय सुब्बाले भनेका छन्, ‘निर्वाचन आचारसंहिता भंग भएको त देखियो तर कसैको उजुरी परेन । परेको भए हामीले छानबिन गर्थ्यौं ।’ सुब्बाको यो भनाइले रावललगायत ओलीको सूचीमा नपरेका अन्य उम्मेदवारलाई हराउन साम, दाम, दण्ड र भेद प्रयोग गरिएको स्पष्ट भएको छ ।
साधारण सदस्य मात्र रहेर रावललाई एमालेमा हस्तक्षेपकारी भूमिका खेल्न गाह्रो छ । ओलीले दश बुँदे सहमति पक्षधर नेताहरूमध्ये पदाधिकारीबाट आउट गरेका रावल, भुसाल र आचार्यको अबको राजनीति कसरी अगाडि बढ्ला, त्यो हेर्न बाँकी नै छ ।