चितवनबाट हिँड्दै गर्दा रावल भए भावुक : अब के गर्ने भोलि नै सोचौंला-Sutra News

चितवनबाट हिँड्दै गर्दा रावल भए भावुक : अब के गर्ने भोलि नै सोचौंला

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।



चुनावी परिणामले भने रावललाई केन्द्रीय सदस्यमा विजयी गराएको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यको सूचीमा उनको पनि नाम थियो ।

एमाले प्रतिनिधहरुले अध्यक्षमा भोट नदिए पनि केन्द्रीय सदस्यमा उनलाई भोट दिएका छन् । तर, रावल आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नै नदिएको बताइरहेका छन् ।

निर्वाचन परिणामपछि महाधिवेशनस्थलमा नै सपथग्रहण समारोह आयोजना गरिएको थियो । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सपथ गराउँदा रावल कुर्सीबाट उठेनन् । उनले आफू सपथ ग्रहण नगर्ने जानकारी पार्टीको निर्वाचन आयोगलाई समेत गराएका थिए ।

कार्यक्रमपछि सबै केन्द्रीय सदस्यहरु वैठकका लागि गएका थिए । रावल भने एक्लै बाहिरिने क्रममा सञ्चारकर्मीले उनलाई घेरे । सक्षिप्त प्रतिक्रिया दिँदै रावलले आफू अब कसरी अगाडि बढ्ने भन्ने निर्णय लिन बाँकी रहेको बताए ।

‘महाधिवेशनका विविध पक्षको विवेचना म काठमाडौंमा गएर गर्नेछु । तर, जुन वातावरणमा मैले जति मत प्राप्त गरेको छु, त्यसलाई महत्वपूर्णरुपमा लिएको छु ।’ उनले भने ।

रावलले आफू केन्द्रीय कमिटी सदस्य नरहेको बताए । निर्वाचन आयोगलाई आफूले अध्यक्षमा मात्रै उम्मेदवारी दिएको जानकारी गराएको भन्दै उनले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदारी नै दिएको छैन भने कसरी निर्वाचित हुन सक्छु ?’

पार्टीका कमिटीमा नबसीकन अब कसरी काम गर्नुहुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘सोचौंला नि भोलीदेखि ।’

रावलले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक बधाइ दिइसकेका छैनन् । मञ्चमा सँगै बसेर ओलीसँग उनको भलाकुसरी भएको भने देखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट