चोलेन्द्र शम्शेर जबरालाई बिदा बस्न सत्तारूढ दलले किन दिए सुझाव ?-Sutra News

चोलेन्द्र शम्शेर जबरालाई बिदा बस्न सत्तारूढ दलले किन दिए सुझाव ?

बिहिबार, १६ मंसिर २०७८

बिहिबार, १६ मंसिर २०७८

सत्ताधारी पाँच दलको नेतृत्वपङ्क्तिले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कार्यवाहक तोकेर बिदामा बस्न सुझाव दिएको छ।



प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान बसेको बैठकले कोरोनाभाइरस सङ्क्रमण भएका प्रधानन्यायाधीश बिदा बस्न सुझाव दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बीबीसीलाई बताए।

चौसट्ठी वर्षीय जबरा अहिले काठमाण्डूको बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचाररत रहेको बताइएको छ।

“लामो समयदेखि अदालतमा समस्या देखिएको छ र सम्माननीय प्रधानन्यायाधीशज्यू अहिले उपचारमा हुनुभएकोले उहाँले अर्को व्यक्तिलाई कार्यवाहक तोकेर न्यायालयका कामलाई अगाडि बढाउन उचित हुन्छ भन्ने पाँच दलीय गठबन्धनको बैठकको निर्णय रहेको छ,” सरकारका प्रवक्ता समेत रहेका कार्कीले भने।

सुझाव मात्र’

प्रधानन्यायाधीश जबरा उपचारार्थ अस्पतालमा भर्ना भएकाले गठबन्धनले त्यस्तो सुझाव दिएको कार्कीले स्पष्ट पारे।

गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेललगायत सहभागी रहेको बताइएको छ।

प्रधानन्यायाधीश जबरा बिदामा बस्नुपर्ने निष्कर्षमा के प्रधानमन्त्री शेरबहादुर देउवाको पनि सहमति छ? भन्ने जिज्ञासामा देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने, “सबैको सहमति हो त्यसमा। सर्वोच्च अदालतका कामकारबाही निर्बाध रूपमा अगाडि बढाउनुपर्छ भन्ने निष्कर्ष हो।”

प्रधानन्यायाधीश जबरा बिदामा बस्ने अथवा नबस्ने विषयमा सर्वोच्च अदालतको प्रशासनले अहिलेसम्म केही बोलेको छैन। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट