आजदेखि मतदाता नामावली संकलन गरिंदै, आफु बसेकै ठाउँबाट नामावली दर्ता गर्न पाइने-Sutra News

आजदेखि मतदाता नामावली संकलन गरिंदै, आफु बसेकै ठाउँबाट नामावली दर्ता गर्न पाइने

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

निर्वाचन आयोगले देशैभर स्थानिय तहका केन्द्रबाट आज देखि मतदाता नामावली संकलन कार्य सुरु गरेको छ । मतदाता नामावली ६३७ स्थानीय तहका केन्द्रबाट दर्ता गराउन सकिने आयोगले जानकारी दिएको छ ।



मतदाता नामावली संकलन काम हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म संचालन हुनेछ भने तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म संचालन हुनेछ । संकलन कार्य हरेक जिल्लामा दुई चरणमा संचालन हुने र सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम संचालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था रहेको आयोगले जनाएको छ । आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावली दर्ताको काम टुंग्याउने आयोगको तयारी छ । १२ माघमा राष्ट्रियसभाको चुनाव गर्ने तयारी छ ।

१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुनेछ भने आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।

आफ्नो स्थायी ठेगाना रहेको जिल्लास्थित निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने साविकको व्यवस्था हुँदा हुँदै विभिन्न रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्ला बाहिर रहेका नागरिकलाई समेत सहज रूपमा मतदाता दर्ता प्रकृयामा सहभागी गराउन सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरूको समेत मतदाता नामावली संकलनको कार्य सुरु भएको आयोगले जनाएको छ ।

यसरी अन्य जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराएका व्यक्तिको नाम निजको स्थायी ठेगाना रहेको मतदाता नामावलीमा समावेश हुने गरी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पठाइनेछ । साथै निजको मतदाता परिचयपत्र समेत स्थायी ठेगाना भएको जिल्लाबाटै प्राप्त गर्ने व्यवस्था मिलाइनेछ ।

मतदाता नामावली विशेष कार्यक्रममा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुने आयोगले जनाएको छ । २० पुसभित्र सबै स्थानीय तहमा मतदाता नामावलीको संकलन कार्य सम्पन्न भइसक्नेछ । ५ पुस २०७७ भित्र १८ वर्ष उमेर पूरा गरेका नागरिकलाई समावेश गरी आयोगबाट ४ चैत २०७७ मा प्रकाशित सूचना अनुसार देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता छन् । यो कार्यक्रमबाट देशभर करिब १० लाख मतदाता थप हुने आयोगले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट