अमेरिकाको विभिन्न शहरमा ओमिक्रोन भेरियन्टका कोरोना संक्रमित फेला परे, न्युयोर्कमा एकै दिन ५ जना भेटियो-Sutra News

अमेरिकाको विभिन्न शहरमा ओमिक्रोन भेरियन्टका कोरोना संक्रमित फेला परे, न्युयोर्कमा एकै दिन ५ जना भेटियो

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

दक्षिण अफ्रिकामा एक हप्ता अघि मात्रै पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन न्युयोर्क पुगेको छ । ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि पाँच जनामा देखा परेको न्युयोर्कका गभर्नर क्याथी होचुलले जानकारी दिएका छन् ।



अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए । त्यसको भोलिपल्टै अर्थात् बिहीबार यो भेरियन्ट न्युयोर्कमा पनि पाइएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचार दिएका छन् ।

यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका थिए । उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सिटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो ।

त्यसैगरी बुधबार नै अमेरिकाको अर्को शहर मिनेसोटामा पनि कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको थियो । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्निया, मिनेसोटा राज्य र न्युयोर्क सहरमा ओमिक्रोनको संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ । हाल विश्वका करिब ३० देशमा ओमिक्रोन भेरियन्ट भेटिइसकेको छ ।–सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट