संगीत सुनेपछि धेरै दुध दिने यो अनौठो गाई-Sutra News

संगीत सुनेपछि धेरै दुध दिने यो अनौठो गाई

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

सङ्गीतले मानिसलाई मात्र होइन जनावरमा समेत अत्यन्त सकारात्मक प्रभाव पार्ने व्यवहारतः सिद्ध भएको छ । राजस्थान (भारत)का एक कृषकले सङ्गीतको माध्यमबाट आफूले व्यवसायमा ठूलो मात्रामा अतिरिक्त लाभ लिँदै आएको खुलासा गरेका छन् । दौलतराम गोयन नामका उनी गाईफर्मका मालिक हुन्, जसको फर्ममा पाँच सय ५० गाई छन् । आफ्ना गाईलाई प्रतिदिन बिहान–बेलुका दौलतराम एम्प्लिफायर लगाएर तीन घन्टासम्म सङ्गीत सुनाउँछन् । यसबाट प्रसन्न भएका गाईले २० प्रतिशत बढी दूध प्रदान गरेको उनको दाबी छ ।



बिहान साढे पाँच बजेदेखि साढे आठसम्म र साँझ साढे चारदेखि आठ बजेसम्म एम्प्लिफायरमार्फत गाईहरूलाई सुमधुर भजन सुनाइन्छ । कुनै गौभक्तको सुझावअनुसार जब दौलतरामले आफ्ना गाईलाई यसरी सङ्गीत श्रवण गराउन थाले, सुझावकर्ताको दाबीअनुसार नै गाईहरू प्रसन्न भएका र दूध उत्पादनमा २० प्रतिशत बढोत्तरी भएको उनी सुनाउँछन् ।

गाईलाई भजनका अलावा शास्त्रीय सङ्गीत पनि सुनाइने गरेको दौलतराम बताउँछन् । पहिले सुस्त र दुर्बल देखिने गाईको मुहार सङ्गीत सुन्न थालेपछि तन्दुरुस्त बन्न पुगेको छ । उनी आफ्ना गाईको अनुहारमा हिजोआज मुस्कान छाइरहेको अनुभूति गर्दछन् । गाईको उच्च व्यवस्थापनका साथ गाईपालन एवम् दुग्ध उत्पादन गरेका दौलतरामलाई राज्य सरकारले समेत सम्मानित गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट