प्रदेश २ कांग्रेसको अधिवेशन उद्घाटन भयो, निर्वाचन रोकियो-Sutra News

प्रदेश २ कांग्रेसको अधिवेशन उद्घाटन भयो, निर्वाचन रोकियो

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

नेपाली कांग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशन उद्घाटन सत्र सकिएसँगै निर्वाचन कार्यक्रम रोकिएको छ । निर्वाचन समितिका रजिष्ट्रेशन संयोजक विश्वेश्वर यादवले प्राविधिक कारण देखाउँदै निर्वाचन प्रक्रिया स्थगित गरिएको विज्ञप्ति जारी गरेका छन् । । उनी कांग्रेस धनुषाका सचिवसमेत हुन् ।



नेपाली कांग्रेस धनुषाको लेटरप्याड प्रयोग भएको विज्ञप्तिमा भनिएको छ- ‘प्रदेश अधिवेशनमा प्रतिनिधिहरुको नाम दर्ता कार्य प्राविधिक कारणले मंसिर १७ शुक्रबारका दिन स्थगित गरिएको छ ।’ विज्ञप्तिमा शुक्रबार प्रतिनिधिहरुको नाम दर्ता कार्य स्थगित गरिएको उल्लेख गरेपनि फेरी कहिले दर्ता गर्ने खुलाइएको छैन ।

प्रदेश अधिवेशनमा पालिकाबाट महाधिवेशन प्रतिनिधिहरुको नाम नआउन्जेलसम्म समस्या उत्पन्न भएकाले तत्कालका लागि स्थगित गर्नुपरेको प्रदेश उपसभापतिका उम्मेदवार प्रफुल्लराज घिमिरेले बताए । उनले सबै वडा र पालिकाबाट प्रदेश अधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको नाम आएपछि प्रदेश अधिवेशनको निर्वाचन सत्र सुरु हुने जानकारी दिए ।

प्रदेश २ को महोत्तरी र सर्लाहीमा कांग्रेसले अहिलेसम्म वडा अधिवेशन तथा पालिका अधिवेशनसम्म गर्न सकेको छैन । त्यसैले पनि प्रदेश अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गरिएको नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट