ओमिक्रोन भेरियन्ट देखिएपछि अमेरिका जाने यात्रुमाथि कडाइ-Sutra News

ओमिक्रोन भेरियन्ट देखिएपछि अमेरिका जाने यात्रुमाथि कडाइ

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

अमेरिकामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि कडा नियमको घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका हुन् ।



बाइडेनले आफ्नो योजनामा लकडाउन नगर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा पनि परिवर्तन नहुने बताएका छन् ।

न्युयोर्क राज्यमा ५ जनामा तथा मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण एकएक जनामा देखिएको छ । अमेरिकामा बुधबार क्यालिफोर्निया राज्यमा पहिलो ओमिक्रोन सङक्रमण देखिएको थियो ।

स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन् । उक्त भेरियन्ट अहिलेसम्म कम्तीमा ३३ वटा देशमा देखिइसकेको छ ।

बिहीबार सार्वजनिक गरिएको विवरणअनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घन्टाअघि अनिवार्यरूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ । यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागू हुने जनाइएको छ ।

अमेरिकासहित थुप्रै अन्य देशहरूले आठवटा दक्षिण अफ्रिकी देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएका छन् । ओमिक्रोन भेरियन्ट देखिएसँगै कोरोनाभाइरस फैलिन नदिनका लागि जो बाइडेन नयाँ नियमहरू ल्याउने तयारीमा रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट