‘रावल मान्छे त राम्रै हुन्, भनेको माने स्थायी कमिटीमा ल्याउन हुन्थ्यो’-Sutra News

‘रावल मान्छे त राम्रै हुन्, भनेको माने स्थायी कमिटीमा ल्याउन हुन्थ्यो’

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

यही मङ्सिर २५ र २६ गते नेकपा एमालेले दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाएको छ ।



बैठकले स्थायी कमिटी र पोलिटब्यूरो चयन गर्ने नेताहरूले बताएका छन् । अध्यक्ष केपी शर्मा ओली आफ्नो कोर टीमको सहयोगमा नाम सूची तयार पार्न व्यस्त देखिन्छन् ।

चितवनको सौराहामा आयोजित दशौँ महाधिवेशनमा ओलीलाई अध्यक्षमा भीम रावलले चुनौती दिएका थिए । सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा रावलको उम्मेदवारीले ठेस पुर्याएको थियो ।

रावलले अध्यक्ष त हारे तर केन्द्रीय कमिटीमा भने निर्वाचित भएका थिए । अध्यक्षमा निर्वाचित नभए केन्द्रीय कमिटीमा पनि नबस्ने भन्दै रावलले सपथग्रहण गर्न मानेनन् ।

स्थायी कमिटीको सूची बनाउने क्रममा केही दिनअघि ओलीले रावलको नाम लिएका थिए । केन्द्रीय सदस्यको सपथ नखाएका रावललाई स्थायी कमिटी सदस्य बनाउन अप्ठेरो परेको भन्दै ओलीले गुनासो गरेका हुन् ।

आफूनिकट नेताहरूसँगको छलफलमा ओलीले भनेका थिए, ‘रावल मान्छे त ठीकै हुन् नि, भनेको मान्दैनन् । भनेको माने स्थायी कमिटीमा ल्याउन हुन्थ्यो ।’

गत मङ्सिर १४ गते चितवनको सौराहामा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव र ३ सय १ केन्द्रीय कमिटी निर्वाचित गरेको थियो ।

अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल, उपमहासचिवत्रय प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, बिष्णु रिमाल सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ स्वतः स्थायी कमिटी सदस्य हुनेछन् ।

त्यसबाहेक २६ स्थायी कमिटी सदस्यको नामावली टुंगो लगाउने जिम्मा ओलीले लिएका छन् । यसअघि स्थायी कमिटी रहिसकेका र दशौं महाधिवेशनमा केन्द्रीय कमिटीमा निर्वाचित भएका लगभग सबैलाई स्थायी कमिटीमा राखिने ओलीनिकट स्रोतको दाबी छ ।

स्थायी कमिटी सदस्यमा उपाध्यक्ष उठेर हारेका घनश्याम भुसाल पनि आउने सम्भावना छ । त्यस्तै थममाया थापा, शिवमाया तुम्बाहाङ्फे, भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, विन्दा पाण्डे, प्रभु साह, गुरु बराल, किरण गुरुङ, राजन भट्टराई, शेरबहादुर तामाङ, शेरधन राई, देवराज घिमिरे, शेरधन राईलगायतका आफूनिकट नेताहरूलाई ओलीले स्थायी कमिटीमा ल्याउन चाहेका छन् ।

स्थायी कमिटी सँगसँगै केन्द्रीय कमिटीको पूर्ण बैठकले ९९ सदस्यीय पोलिटब्यूरो पनि गठन गर्नेछ । स्थायी कमिटीमा नपरेका तर पार्टीभित्र लामो समय काम गरेका कतिपय नेताहरूलाई पोलिटब्यूरोमा राखिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट