किन बहिस्कार गर्दै छ अस्ट्रेलियाले बेइजिङ ओलम्पिक ?-Sutra News

किन बहिस्कार गर्दै छ अस्ट्रेलियाले बेइजिङ ओलम्पिक ?

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

अस्ट्रेलियाले पनि सन् २०२२ मा हुने बेइजिङ ओलम्पिक्सलाई कूटनीतिक रुपमा बहिस्कार गर्ने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बुधबार सो घोषणा गरेका हुन् । प्रधानमन्त्री मोरिसनले खेलाडी सहभागी भए पनि प्रतिनिधिमन्डल भने स्वदेशमै रहने बताए ।



राजधानी सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोरिसनले भने, ‘मानवअधिकार उल्लंघन र सिन्जियाङका मुसलमानहरुमाथिको दुर्व्यवहारलाई लिएर अस्ट्रेलियाले कूटनीतिक रुपमा बेइजिङ ओलम्पिक बहिस्कार गर्छ ।’

मानवअधिकार र दुर्व्यवहारमा परेका मुसलमानबारे चीन सरकारसँग वारम्वार वार्ता गर्न चाहे पनि सरकारले बेवास्ता गरेको मोरिसनले बताए । चीनले तिब्बतलाई हेर्ने दृष्टिकोण, त्यहाँ भइरहेका मानवअधिकार दुर्व्यवहारका घटनालाई लिएर अधिकारवादीहरुले महिनौंदेखि बेइजिङ ओलम्पिक बहिस्कार गर्न विभिन्न देशमाथि दबाब दिँदै आएका छन् ।

यसअघि अमेरिकाले पनि बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको थियो। चीनमा मानव अधिकार उल्लंघनका घटनामा बृद्धि भएको आरोप लगाउँदै चीनले हिउँदे अ‌ोलम्पिकलाई बहिस्कारको घोषणा गरेको थियो । तर, अमेरिकी खेलाडी भने सो प्रतियोगितामा सहभागी हुने जनाइएको थियो ।

चीनले सिन्जियाङका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ। हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको पनि अमेरिकाले चीनमाथि आरोप लगाउँदै आएको छ ।

एक महिनाअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले शीतकालीन ओलिम्पिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट