उद्योगलाई व्यवस्थित बनाउन कानून नै संशोधन गर्नुपर्ने देखियो- मन्त्री झाँक्री   -Sutra News

उद्योगलाई व्यवस्थित बनाउन कानून नै संशोधन गर्नुपर्ने देखियो- मन्त्री झाँक्री   

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावलीमा नभई ऐन कानुनमै संशोधन आवश्यक भएको बताएकी छन् । १४औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले बुधवार राजधानीमा र्‍याली निकाल्नु अघि गरेको सभामा मन्त्री झाँक्रीले निर्माण व्यवसायीमैत्री कानुन आवश्यक भएको बताएकी हुन् ।



निर्माण उद्योगमा योजना छनौटदेखि कार्यान्वयन चरणसम्म समस्या रहेकाले कानुन संशोधन अपरिहार्य भएको झाँक्रीले बताइन् । सरोकारवाला पक्षहरूको सुझावसहित सरकार नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारीमा रहेको जानकारी मन्त्री झाँक्रीले दिइन् । ‘देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्तहुनु जरुरी छ’ मन्त्री झाँक्रीले भनीन् ।

समाज र सिङ्गो मुलुकले निर्माण व्यवसायीलाई इज्जत दिनु जरुरी रहेको भन्दै झाँक्रीले निर्माण व्यवसायीहरूलाई पनि आफ्नो क्षमता अभिवृद्धि गर्न सुझाव दिइन् । निर्माण कम्पनीहरूलाई मर्ज गरी पब्लिक कम्पनीमा लैजान आग्रह गर्दै मन्त्री झाँक्रीले निर्माण उद्योगमा क्रियाशील श्रमीकहरूको हकहितलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विकास विस्तारविना समृद्ध मुलुकको परिकल्पना असम्भव रहेको बताए । निर्माण उद्योगमा धेरै समस्या रहेको भन्दै अध्यक्ष सिंहले वर्तमान सरकारले व्यवसायी मैत्री ऐन नियम ल्याउनेमा नेपाल निर्माण व्यवसायी महासंघ आशावादी रहेकोसमेत बताए ।

बाजागाजा, प्लेकार्डको प्रदर्शनीसहित दशरथ रङ्गशालाबाट शुरु भएको र्‍याली थापाथली, माईतिघर, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरमा पुगेको थियो । महासंघ सचिवालयमा आयोजित समापन समारोहमा महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष सुकुन्तलाल हिराचन, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे महासचिव रोशन दाहाल लगायतले निर्माण व्यवसायीहरूलाई शुभकामना दिएका थिए ।

निर्माण दिवसकै अवसरमा महासंघ प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदानसमेत गरेका थिए । यसै अवसरमा प्रदेश महासंघ, जिल्ला निर्माण व्यवसायी संघहरूले विविध सामाजिक कार्यक्रम आयोजना गरी १४ औं राष्ट्रिय निर्माण दिवस मनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट