यी २ नेताको अडानका कारण संस्थापन इतरको बैठक निश्कर्षविहीन, भोलि चिया पिएपछि फेरी बस्ने-Sutra News

यी २ नेताको अडानका कारण संस्थापन इतरको बैठक निश्कर्षविहीन, भोलि चिया पिएपछि फेरी बस्ने

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

शेखर र प्रकाशमानले छाडेनन् अडान, भोलि विहान आकांक्षी बाहेकको बैठक



नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्ने संस्थापन इतरको प्रयासले आज पनि सफलता पाउन सकेन ।

आगामी मंसिर २४ गतेबाट राजधानीमा सुरु हुन लागेको महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्ने प्रयास संस्थापन इतर पक्षले केही दिन यता गरिरहेको भए पनि नेताहरुले आ आफ्नो अडान नछाड्दा पूरा हुन नसकेको हो । मंगलबार लगभग सहमति नजिक पुगेको र केही प्राविधिक कुरा मिलाउन बाँकी रहेको बताइएको भए पनि आज पनि बैठकमा कुरा मिल्न नसकेको हो ।

सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला आकांक्षी रहेका छन् ।

सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले हिजै बताएका थिए । तर नेताहरु सहमतिमा नआएपछि थप समस्या देखिएको छ ।

चार नेताहरुका बीचमा आज सहमति नभएकाले भोलि फेरि अरु नेताहरु बसेर छलफल गरेपछि निकास निकाल्ने कुरा भएको नेता गुरु घिमिरेले जानकारी दिए । उनका अनुसार भोलि विहान ८ बजे बानेश्वरमा बसेर सुझाव लिएर निकास निकाल्ने कुरा भएको छ ।

उनले भने, ‘उहाँहरु बाहेकको छलफल गरेर विकल्पसहितको धारणा पेस गरेपछि मिल्ला ।’

उनका अनुसार वरिष्ठ नेता पौडेल सहमतिका लागि त्याग गर्न तयार भएपनि सिंह र शेखरबीच सहमति हुन नसकेको हो।

यता सभापति शेरबहादुर देउवाको समूहले पनि आंकांक्षी बढेका कारण उम्मेदवार चयन गर्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट