त्यसपछि पौडेलले रिसाउँदै भने- यस्तै पारा हो भने म पार्टीबाटै अलग हुन्छु !-Sutra News

त्यसपछि पौडेलले रिसाउँदै भने- यस्तै पारा हो भने म पार्टीबाटै अलग हुन्छु !

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्नो समूहबाट अझै पनि सभापतिमा उम्मेदवार छनोट गर्न नसक्दा तनाव भएको छ ।



महाधिवेशन सुरु हुन केही दिनमात्र बाँकी रहंदा पौडेल समूहले अझै पनि साझा उम्मेदवार खडा गर्न सकेको छैन । यसबाट पौडेल विचलित बनेका छन् ।

आज उम्मेदवार बनाउने भन्ने विषयमा चाक्सीबारीमा बैठक बसेको छ । आजको बैठक  पनि बिना निश्कर्ष टुंगिएको छ । यसमा पौडेल झन आन्तरिक तनावमा रहेका छन् । किनभने उनी देउवासंग प्रतिस्पर्धा गर्ने मानिस हुन् । विभिन्न भाषणमा उनले आँफूलाई देउवाभन्दा माथि राखेर प्रस्तुत गर्ने गर्छन् ।

उम्मेदवार छनोट गर्न नसकेर तनावमा रहेका पौडेलले आज नेताहरुसंग नराम्रोसंग रिस पोखे । एक नेताका अनुसार उनले अझै पनि उम्मेदवार खडा गर्न नसके आफूले राजनीतिबाट बिदा लिएर घरै बस्नेसम्म भन्न भ्याए ।

आगामी मंसिर २४ गतेबाट राजधानीमा सुरु हुन लागेको महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्ने प्रयास संस्थापन इतर पक्षले केही दिन यता गरिरहेको भए पनि नेताहरुले आ आफ्नो अडान नछाड्दा पूरा हुन नसकेको हो । मंगलबार लगभग सहमति नजिक पुगेको र केही प्राविधिक कुरा मिलाउन बाँकी रहेको बताइएको भए पनि आज पनि बैठकमा कुरा मिल्न नसकेको हो ।

सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला आकांक्षी रहेका छन् ।

सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले हिजै बताएका थिए । तर नेताहरु सहमतिमा नआएपछि थप समस्या देखिएको छ ।

चार नेताहरुका बीचमा आज सहमति नभएकाले भोलि फेरि अरु नेताहरु बसेर छलफल गरेपछि निकास निकाल्ने कुरा भएको नेता गुरु घिमिरेले जानकारी दिए । उनका अनुसार भोलि विहान ८ बजे बानेश्वरमा बसेर सुझाव लिएर निकास निकाल्ने कुरा भएको छ ।

उनले भने, ‘उहाँहरु बाहेकको छलफल गरेर विकल्पसहितको धारणा पेस गरेपछि मिल्ला ।’

उनका अनुसार वरिष्ठ नेता पौडेल सहमतिका लागि त्याग गर्न तयार भएपनि सिंह र शेखरबीच सहमति हुन नसकेको हो।

यता सभापति शेरबहादुर देउवाको समूहले पनि आंकांक्षी बढेका कारण उम्मेदवार चयन गर्न सकेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट