शिक्षक रानाले १७ महिनाको तलब अझै पाएनन्-Sutra News

शिक्षक रानाले १७ महिनाको तलब अझै पाएनन्

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

गाउँबाट विस्थापित बैतडीका शिक्षक करन रानाले १७ महिनासम्मको तलब पाएका छैनन् ।



जिल्लाको दशरथचन्द नगरपालिका-४ स्थित ईश्वर आधारभूत विद्यालयमा अध्यापनरत राहत शिक्षक राना तलब नपाएको भन्दै गत भदौ महिनामा पाँच दिनसम्म श्रीमती र चार छोराछोरीसहित आमरण अनशन बसेका थिए ।

जिल्ला शिक्षा समितिले केही दिनमै तलब प्रदान गर्न पहल गर्ने बताएपछि अनशन तोडेका थिए । त्यो समयमा उनको १४ महिनाको तलब बाँकी थियो भने अहिले १७ महिना पुगिसकेको छ ।

शिक्षक रानाले भने, ‘हामी सपरिवार जिल्ला समन्वय समितिको प्राङ्गणमा शिक्षा समिति अध्यक्षको कार्यकक्ष अगाडी आमरण अनशनमा बसेका थियौं । माग पुरा नभए अनशनमै मर्नेसम्म भनेका हौं । तर, पाँच दिनपछि जिल्ला शिक्षा समितिका अध्यक्ष सिद्धराज भट्ट, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नरेन्द्र अवस्थी र दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथ केही पत्रकारहरूको साथमा जानुभयो । माग पुरा गर्ने प्रतिबद्धता गर्नुभयो । र, हामीले अनशन तोड्यौं । एक/दुई दिन भित्रै तलब खुवाउँछौँ भनिएकोमा अहिले थप तीन महिना बित्यो तलब पाइएको छैन ।’

श्रीमानको तलब नआउँदा दैनिक छाक टार्न मुस्किल भएको रानाकी श्रीमती राजु रानाले बताइन् । उनले पाँच हजार कोठा भाडा तिर्नुपर्छ, विद्युत् महसुल, पानीको महसुल, दैनिक उपभोग्य सामान, छोराछोरीको विद्यालयको शुल्क केही पनि तिर्न सकेका छैनौं । १२ लाख बढी रकम ऋण तिर्नु बाँकी छ । चार लाख व्यापारीहरूबाट उधारोमा खाएको रासनको पैसा तिर्न बाँकी छ । साहुहरू कोठामै आएर गाली गर्छन् ।’

करन राना दम्पती २०७२ सालमा एक दलित केटासँग चन्दको छोरी भगाएको झुटो आरोपमा शिवनाथ गाउँपालिका-६ बाट विस्थापित भएका थिए । उनीहरूलाई गाउँलेले लखेटेपछि जिल्ला सदरमुकाममा बस्दै आएकाछन् । उनीहरूलाई लगाएको आरोप भने अदालतले झुटा ठहर गरिसकेको छ ।

उनीहरूको घरसमेत जलाइएकाले जिल्ला सदरमुकाममै बस्दछन् । अझै पनि राना परिवारलाई गाउँलेबाट ज्यान मार्ने धम्की आउने गरेको छ ।

शिवनाथ गाउँपालिका-६ स्थित हिरापुर माविमा राहत कोटामा कार्यरत शिक्षक राना ६ वर्षअघि गाउँबाट विस्थापित भएपछि अहिले दशरथचन्द नगरपालिका-४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा काम गरिरहेका छन् ।

हिरापुर मावि शिवनाथले शिक्षक रानालाई दशरथचन्द नगरपालिका भित्र पदस्थापनको लागि स्वीकृति दिइसकेको छ । तर, रानाले काम गरिरहेकै विद्यालयमा राहत कोटा खाली भए पनि जिल्ला शिक्षा समितिले पदस्थापन गरेको छैन । आफ्नो पदस्थापन र रोकिएको तलब माग गर्दै राना सपरिवार अनशन बसेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट