पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।
सन् २००३-०४ पछि पहिलो पटक बार्सिलोना अन्तिम १६ मा स्थान बनाउन असफल भएको हो ।
यसै वर्ष आर्थिक समस्याका कारण स्टार खेलाडी लियोनल मेस्सीलाई गुमाएको बार्सिलोनाको लागि यो अर्काे खराब स्थिति हो ।
बुधबार राति बायर्न म्युनिखको घरेलु मैदान एलिएन्ज एरिनामा भएको खेलमा बार्सिलोना ३-० ले पराजित भयो ।
समूह ‘इ’कै अर्काे खेलमा बेन्फिकाले ड्यनामो केईभलाई २-० अन्तरले पराजित गरेपछि पूर्वखेलाडी जाभि होर्नाण्डेजको बार्सिलोना १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिन बाध्य भयो ।
बायर्नको जितमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले गोल गरे ।
३४औँ मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ४३औँ मिनेटमा सानेले गोल गर्दै अग्रता दोहोरो बनाए । ६२औँ मिनेटमा जमलले गोल गर्दै बायर्नलाई ३-० अन्तरको जित दिलाए ।
समुहको अर्काे खेलमा बेन्फिकाले ड्यनामोलाई २-० अन्तरले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो । बेन्फिकाको जितमा रोमन यारेमचुक र गिल्बर्टाे जुनियरले गोल गरे ।
जितसँगै बायर्नले ६ खेलबाट अपराजित रहँदै १८ अंक जोडेर शीर्ष स्थानमा रह्यो । बेन्फिका ८ अंक बनाउँदै दोस्रो स्थानमा रहँदै उपविजेता भयो । ७ अंक भएको बार्सिलोना र १ अंकको ड्यनामो भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिए ।